– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने २ दिनमात्रै बढेको छ। 

अघिल्लो साताको अन्तिम कारोबार दिन २०२८.७७ को विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनमा १९९२.६२ को विन्दुमा बन्द भएको छ। यो हिसाबले यो साता बजार ३६.१५ अंकले गिरावट आएको छ। अघिल्लो साता बजार १६७ अंकले बढेको थियो। 

अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम भने बढेको छ। यो साता १४ अर्ब ३५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता १० अर्ब ६४ करोड रुपैयाँमात्रै भएको थियो। यो साता बजारमा सेयर कारोबार झन्डै ४ अर्ब रुपैयाँले बढेको छ। 

यो साता असार मसान्तको प्रभावले बजारमा केही दबाब आएको देखिन्छ। आगामी साता अझै १–२ दिन असार मसान्तको प्रभाव पर्न सक्ने बजार जानकारहरु बताउँछन्। 

प्राविधिक पक्ष 

डबल बटम भनेको के हो ?

एकपटक घटेर बढेको बजार यदि पुनः घटेर पहिलेको अवस्थामा नै आउँछ र पुनः उकालो यात्रा तय गर्छ भने त्यसलाई डबल बटम भनिन्छ। यो भनेको बजारमा ट्रेन्ड रिभर्सलको संकेत हो। यस्तो अवस्थामा बजारले ठूलो फड्को मार्ने गर्छ।  डबल बटम घट्दो बजारमा हुने गर्छ। 

यसविपरीत यदि बजार बढ्दो ट्रेन्डमा डबल टप बनाउँछ भने त्यसले पनि ट्रेन्ड रिभर्सल अर्थात बजार लामो समय गिरावट आउने संकेत गर्छ। डबल टप भनेको ‘एम’ आकारको हुन्छ। 

हालको गिरावट यदि पहिलेको तहमा नै आएर पुनः फर्किन्छ भने त्यसले बजार अब लामो समय अप ट्रेन्डमा जाने बुझिन्छ। यसका लागि बजारले २१५० मा ब्रेक आउट गरेको मानिनेछ भने १८५० को तहलाई डबल बटम हुनेछ। 

डबल बटमले ‘डब्ल्यू’ आकार बनाएको हुन्छ। यसले बुलिस रिभर्सलको संकेत गर्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा अघिल्लो साता बोलिंगर ब्यान्डको तल्लो विन्दुमा बुलिस इन्गल्फिङ क्यान्डल बनेको थियो। यो साता भने क्यान्डल स्टिकमा इन्भर्टेड ह्याम्मर बनेको छ। बोलिंगरको  न्यून विन्दुमा यस्तो आकृति बन्छ भने यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। (हेर्नुहोस् कालो एरो) 

साप्ताहिक रुपमै  म्याक्डीमा एमएसीडी लाइन र सिग्नल लाइनबीच दूरी कम हुँदै गएको देखिन्छ। आरएसआई २६ को जोनबाट ३५ को जोनमा माथिको यात्रामा रहेको देखिन्छ। 

बजारलाई दैनिक चार्टमार्फत हेर्छौं भने मूल्यरेखाले  बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा माथि नै रहेको छ। आगामी कारोबारमा यदि बजार १९६८ भन्दा माथि–माथि नै कारोबार हुन्छ भने बजारले कुनै पनि बेला अप ट्रेन्डको यात्रा तय गर्ने सम्भावना प्रबल रहेको छ। यदि बजार त्यहाँबाट पनि खसेर १९१८ भन्दा तल नै आउँछ भने बजारले डबल बटम बनाउँदै गरेको बुझ्न पनि सकिन्छ।

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

आगामी दिनमा यदि बजार घट्छ भने ०.२३ प्रतिशतको टेवामा २०७४ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २०१८ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा १९७६ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा १९३५ को विन्दुसम्म आउन सक्ने देखिन्छ। 

निष्कर्ष

आज बजार पुनः २००० को विन्दुबाट तल झरेको छ। यसले बजारमा असार मसान्तको प्रभाव परेको देखिन्छ। 

प्राविधिक रुपमा बजारलाई दैनिक चार्टमार्फत हेर्ने हो भने अझै पनि बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा माथि नै कारोबार भएको छ। यसले बजार मजबुत रहेको छ। अल्पकालका लागि यदि बजार पुनः पहिलेको विन्दुमै आउँछ भने बजारले डबल बटम बनाउँदै गरेको बुझिन्छ। यो भनेको बजारले ट्रेन्ड रिभर्सल गर्दै गरेको र नयाँ उचाइ तय गर्दै गरेको पनि बुझिन्छ। तर, बजार बोलिंगरको मध्य ब्यान्डभन्दा माथि नै मजबुत कारोबार भएका कारण १९६८ को विन्दुभन्दा माथि–माथिबाटै पुनः उकाले यात्रा तय गर्न सक्ने सम्भावना पनि सेयर बजारमा उत्तिकै छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।