काठमाण्डौ । सातामा धितोपत्र कारोबार हुने तेस्रो दिन मंगलबार बजारमा दोहोरो अंकको उछाल आएको छ।

आज नेप्से परिसूचक ६५.४९ अंकको बढोत्तरीका साथ २४७३.७४ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१० अंकले बढ्दै ४५१.३८ को उचाइमा पुगेको छ। 

आज कारोबार रकमसमेत बढेर झन्डै सवा ९ अर्बको हाराहारीमा भएको छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरले बजार आशा गरेअनुसार नै बढेको बताए। बैंक तथा वित्तीय कम्पनीहरुमा दीर्घकालीन लगानी गर्न र ठूलो संख्यामा सेयर किन्नलाई उपयुक्त समय रहेको उनको ठहर छ। ‘ठूला र राम्रा अनि बलिया कम्पनीहरु छान्न सकेमा दीर्घकालीन रुपमा फाइदा नै हुन्छ’, उनले भने, ‘बैंक तथा वित्तीय समूहको दोस्रो त्रैमासमा सोचअनुरुप नतिजा नआए पनि तेस्रो त्रैमासमा कर्जा असुलीमा जोड गर्ने हुँदा अब यी समूहले बजार बढाउन मद्दत पुर्याउने छन्।’

आज बजार बढ्न नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनीको ठूलो परिमाणमा कारोबार हुनु पनि प्रमुख भूमिका रहेको विश्लेषकहरु बताउँछन्।

अर्कोतर्फ बजारको मनोवैज्ञानिक विन्दु २४६३ विन्दु आज पार भएका कारण अब छिटै २७०० विन्दुमा पुग्ने उनीहरुको भनाइ छ। 

आज बैंक तथा संस्थागत समूहहरुले ठूलो परिमाणमा निर्जीवन बीमा कम्पनीहरुको सेयरमा खरिदचाप बढेकोले यो समूहमा उछाल आएको विश्लेषकहरुको धारणा छ।

सक्रिय लगानीकर्ता राजेन्द्रप्रसाद ढकाल बैंकहरुले घटाएका ब्याजदर नबढेसम्म सेयर बजारमा चम कायमै रहने बताउँछन्। ‘कुनै बेला घरजग्गा कारोबारमा थामिनसक्नु लगानी बढेको थियो, त्यसरी नै अहिले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ’, उनले भने, ‘यो आकर्षण ब्याजदर नबढेसम्म कायमै रहन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन निर्जीवन समूह सर्वाधिक ६२६.२ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ५९४.२४ अंकले बढेको आज बैंकिङ समूहमा ३३.७१ अंक, व्यापार समूहमा ३३ अंक, विकास बैंक समूहमा २८.३८ अंक, जलविद्युत् समूहमा ३३.९४ अंक, वित्त समूहमा १.४४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६१.२९ अंक, अन्य समूहमा ८०.०२ अंक, लघुवित्त समूहमा १५२.१२ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी भएको छ। आज होटेल्स् समूहमा ६२.०८ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका १ करोड ५४ लाख ९९ हजार ३८७ कित्ता सेयर ८ अर्ब ६७ करोड ५६ लाख ७१ हजार ३०९ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ५३ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३८ करोड ४८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३५ करोड ५० लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ६६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २२ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १४ करोड ३९ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको १३ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र मल्टीपर्पस फिनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो। आज ग्लोबल आईएमई बैंक, एभरेस्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएका छन्।

आज ओरेन्टियल होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।