काठमाण्डौ । मंगलबारदेखि ओरालो लाग्न थालेको पूँजीबजारमा बुधबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकम(टर्नओभर) पनि घटेको छ । विश्लेषकहरुले इण्डेक्ससँगै कारोबार रकम पनि कम हुँदै जानुलाई आगामी दिनमा ‘बजार अझ तल जाने संकेत’ भनेका छन् । 

९.९७ अंकको गिरावट भई नेप्से परिसूचक १८२४.८३ अंकमा झरेको छ भने कारोबार रकम पनि मंगलबार भन्दा १६ करोड भन्दा बढीले घटेको छ । 

आइतबार र सोमबार बजारलाई माथि उठाइरहेका वाणिज्य बैंक, बिकास बैंक र बित्त समूहमा बुधबार रातो पोतिएको छ । वाणिज्य बैंकको लाभांशपछि सेयर बिक्री गरी प्रोफिट बुक गराउनेको संख्या बढेका कारण लगानीकर्ता बुधबार भने बिमा कम्पनीतर्फ मोडिएका देखिएको छ । कमाउनेमा पनि बिमा कम्पनीहरु नै अगाडि देखिएका छन् । 

वाणिज्य बैंक २०.६८ अंकले घटेको छ भने विकास बैंक र बित्त समूह क्रमशः ५.४४ र ०.३७ अंकले तल झरेको छ । 

जलविद्युत समूहमा ५.९९ र उत्पादनमूलकमा ७.७ अंकको गिरावट देखिएको छ । 

तीनवटा समूह भने उक्लिएका छन् । बिमा समूह ९४.३३ अंकले उभो लागेको छ भने होटल समूह र अन्य समूहमा क्रमशः २.१६ र ०.५८ अंकको बढोत्तरी भएकोछ । 

'क' वर्गको कम्पनीको कारोबार कम भएका कारण सेन्सेटिभ इण्डेक्स २.५१ अंकले तल झरेको छ । फ्लोट इण्डेक्समा पनि ०.७७ अंकको गिरावट देखिएको छ । 

मंगलबार १ अर्ब ८५ करोडको सेयर कारोबार भएकोमा बुधबार सो पनि घटेर १ अर्ब ६५ करोडमा झरेको छ । बुधबार १ सय ४५ कम्पनीका कुल २९ लाख ३१ हजार ९ सय ८४ कित्ता सेयर किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु
वाणिज्य बैंक समूह १.१७ प्रतिशतले तल झरे पनि सेयर र नगद लाभांश घोषणा गरेको नवील बैंकले सबैभन्दा धेरै काराबो गर्यो । यो बैंकको कुल १३ करोड ५२ लाखको सेयर किनबेच भयो । 

धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा दोश्रो स्थान लुम्बिनी जनरल इन्स्योरेन्सले कब्जा गर्यो । यो कम्पनीको कुल ११ करोड ९६ लाखको सेयर किनबेच भयो । 

नबील बैंककै ८ करोड ४३ लाख बराबरको प्रोमोटर सेयरको समेत किनबेच भयो भने नेपाल बंगलादेश बैंकले बुधबार पनि ७ करोड ५२ लाखको सेयर कारोबार गर्यो । 

प्रभू इन्स्योरेन्सले ७ करोड ५१ लाख, एभरेष्ट बैंकले ७ करोड ३५ लाख, सनराइज बैंकले ७ करोड १७ लाख, कृषि विकास बैंकले ६ करोड ५४ लाखको कारोबार गरे । एनएलजी इन्स्योरेन्सले ४ करोड ८२ लाखको कारोबार गर्दा यूनाइटेड इन्स्योरेन्सको ४ करोड १८ लाख बराबरको सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउनेहरु
बुधबार कमाउनेको सूचिमा बिमा कम्पनीहरु अगाडि रहे । तर सबैभन्दा धेरै चाहि रिलायवल माइक्रोफाइनान्सले कमायो । यो कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि भयो । लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भयो । यो कम्पनीको सेयर मूल्यमा ६.७३ प्रतिशतको बढोत्तरी भयो । यस्तै, यति डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६१ प्रतिशतले बढ्यो । प्रभू इन्स्योरेन्सका लगानीकर्ताले ६.२९ प्रतिशतले सम्पत्ति बढाए भने प्रूडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य पनि ४.७० प्रतिशतले वृद्धि भयो । किसान माइक्रो फाइनान्स र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा क्रमशः ४.३५ र ४.०८ प्रतिशतको बढोत्तरी भयो । 

बुधबार अपेक्षा भन्दा थोरै लाभांश घोषणा गरेको सानिमा बैंकको सेयरमा खासै आकर्षण देखिएन । यो कम्पनीको सेयर मूल्य लाभांश घोषणा गरेकै दिन घट्न पुगेको छ । सानिमा बैंकको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । 

बुधबार सबैभन्दा धेरै रिदी हाइड्रोपावरका सेयरधनीले गुमाउनुपरेको छ । यो कम्पनीको सेयर मूल्यमा ६.४३ प्रतिशतले पहिरो गएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्य पनि ६ प्रतिशतको हाराहारीमा घट्न पुगेको छ । मनास्लु विकास बैंक लिमीटेड, कन्काई विकास बैंक, लक्ष्मी बैंक र कावेली विकास बैंकको सेयर मूल्यमा ३ प्रतिशत भन्दा बढीले गिरावट आयो ।