काठमाण्डौ । साताको सुरुआतदेखि पुनः युटर्न लिएको सेयर कारोबार मापक नेप्से इन्डेक्स आज कारोबार समयको मध्यतिर उकालो गति लिने प्रयासबाबजुद ११ सय ६८ को विन्दुसम्म पुगेको छ ।

बजारको उतारचढावलाई लगानीकर्ताको आत्मविश्वास र मनोबलले प्रत्यक्ष असर परिरहेको हुन्छ । अझ नेपाली सेयरबजारमा नेप्से इन्डेक्सलाई नै आधार मानेर लगानी गरिरहेका लगानीकर्ताहरुमा सोचेजस्तो मनोबल बढ्न सकिरहेको छैन भने थोरै नाफामै रमाइरहेका देखिन्छन् ।

सेयर कारोबारमा लगानीकर्ताहरुले कम्पनीका सेयरमूल्य सस्तोमा झारेर किन्ने मनस्थिति र केही समूहले एकाध स्क्रिप्टमा लगानी ओइराउँदा आजको बजार स्थिर झैँ बन्यो ।

आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा १.८२ अंकको बढोत्तरीसँगै ११ सय ६८.०३ विन्दुको उचाइमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकको वृद्धिसँगै २५४.७२ विन्दुमा पुगेको छ ।

यस दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ८ वटामा हरियो पोतियो भने ४ वटामा रातो पोतियो ।

आजको दिन जीबन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहमा बढोत्तरी भयो । यी समूहमा क्रमशः ६९.७, १९.९ र १६.२२ अंकको बढोत्तरी भयो । त्यस्तै बैंकिङ, होटल्स, विकास बैंक, अन्य र म्युचुल फन्डमा क्रमशः ०.४२, ६.१२, १.२, २.०९ र ०.०१ अंकले वृद्धि भयो ।

यस दिन लघुवित्त समूहमा सबैभन्दा बढी ५.९८ अंकको गिरावट आयो भने व्यापार, जलविद्युत् र वित्त समूहमा क्रमशः २.२५, २.७३ र १ अंकले घट्यो।

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन नेप्सेमा सूचीकृतमध्ये १७५ कम्पनीका १६ लाख ८१ हजार ८३८ कित्ता सेयर ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोबार भयो । 

यस दिन तीनवटा कम्पनीहरुले चार करोडभन्दा माथिको कारोबार गर्न सफल भए । सानिमा बैंकको डिबेन्चर, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले क्रमशः ४ करोड ८१ लाख, ४ करोड ५८ लाख र ४ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।

यस्तै आजको दिन शिवम् सिमेन्ट, माछापुच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ३ करोड ४८ लाख, ३ करोड ४४ लाख र ३ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार गरे । त्यस्तै हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नागरिक लगानी कोष र कृषि विकास बैंकले पनि क्रमशः २ करोड ५२ लाख, १ करोड ७० लाख, १ करोड ५८ लाख र १ करोड २८ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।

धेरै कमाउने र गुमाउनेहरु

यस दिन नेपाल सेवा लघुवित्त र कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीहरुले राम्रो कमाउन सफल भएका छन् । यी दुवै कम्पनीका सेयरमूल्यमा करिब १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

यस्तै यो दिन नेपाल फाइनान्स लिमिटेडका सेयरधनीहरुले धेरै गुमाउन पुगे। यो कम्पनीको सेयरमूल्यमा झनै १० प्रतिशतले गिरावट आयो । यस दिन समृद्धि फाइनान्स र युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीले गिरावट आयो ।