काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रतिक्षा र खलबलिएको राजनीतिक परिदृश्यका कारण आज दिनभर बजार सुस्तायो । 

साताको अन्तिम कारोबार दिन बिहीबारको सेयर बजारमा कुनै चमक नै थिएन । थोरै अंकले दिनभरजसो बजार उतारचढाव भइरह्यो । यो दिनभर सेयर किन्ने र बिक्री गर्नेबीच थोरै रकममै मोलमोलाइ चलेको देखियो । अन्तमा नेप्से परिसूचक १.९४ अंकले घट्यो भने कारोबार रकम २ अर्ब २७ करोडमा खुम्चिन पुग्यो । 

बजारका अगुवा लगानीकर्ता तथा विश्लेषकहरुले राजनीतिक अन्यौल र नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा चाँडै ल्याउने हल्लाका कारण बजारमा लगानीकर्ताहरु निस्क्रिय भएका दाबी गरे । 

राजनीतिभन्दा अझ बढी केन्द्रीय बैंकको मौद्रिक समीक्षामा बजारमा प्रभाव पर्ने कुनै नीतिगत परिवर्तन होला भन्ने विश्लेषणसहित लगानीकर्ताहरु होल्ड भएका उनीहरुको दाबी छ । 

स्वतन्त्र पुँजी बजार सङ्घका अध्यक्ष रोहन कार्कीकाअनुसार आजको बजार र कारोबार रकम हेर्दा लगानीकर्ताहरू अन्योलमा रहेका बुझिन्छ । कार्की भन्छन्–‘अहिलेको राजनीतिक माहौलले गर्दा बजारमा सेयर खरिद गर्ने र विक्री गर्ने दुवै किसिमका लगानीकर्ताहरू अन्योलमा भएको अवस्था छ। आजको कारोबार रकम हेर्दा लगानीकर्ताहरू प्यानिक छैनन् भन्ने बुझिन्छ।’

‘बजार माथि नै जाने हो। तर अहिले भने लगानीकर्ताहरू राष्ट्रिय राजनीतिक माहौल के हुन्छ भनेर पर्खेर बसेको अवस्था छ।’– उनले भने।

नेपाल ईन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाले आजको बजारमा दुई वटा फ्याक्टरः राजनीतिक अवस्था र मौद्रिक नीतिको समीक्षाको प्रभाव भएको बताए।

ढकाल भन्छन्–‘राजनीतिक अवस्था नै अन्योलमा हुँदा बजारमा अन्यौलता हुनु स्वाभाविक हो। त्यसतै आज मौद्रिक नीतिको समीक्षा आउने हल्ला छ। आजको बजार हेर्दा लगानीकर्ताहरूले मौद्रिक नीतिको समीक्षा पनि पर्खेको देखिन्छ।’

बजारमा के-के भयो ?
यो दिन बजारमा जलविद्युत, उत्पादन तथा प्रशोधन, व्यापार, अन्य तथा म्युचुअल फण्ड उपसमूहको उपसूचक बढ्यो । 

जलविद्युत समूह २.५९ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ०.११ अंक, व्यापार समूहमा १२.३३ अंक, अन्य समूहमा ५.१२ अंक तथा म्युचुअल फण्ड समूहमा ०.०२ अंकको झिनो बढोत्तरी देखियो । 

यीबाहेक सबै उपसमूह राताम्मे भए । बैंकिङ समूहमा ०.०७ अंकको गिरावट देखियो भने विकास बैंक, बित्त समूहमा क्रमशः २०.३० अंक र १०.६३ अंकले घटे । होटल र टुरिजम समूह ९.७० अंकले घटेको यो दिन जीवन बीमा समूहमा ५४.६१ अंक तथा निर्जीवन बीमा समूहमा ६.२० अंकको गिरावट देखियो । माइक्रोफाइनान्स समूह ४.४७ अंकले घटेको यो दिन इन्भेष्टमेन्ट समूहमा ०.३४ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १९१ कम्पनीका ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लख ७३ हजार ६६० रुपैयाँमा किनबेच भयो । 

जीवन विकास लघुवित्तको सबैभन्दा बढी २२ करोड ३७ लाख बढीको सेयर कारोबार भयो । 

हिमालयन डिस्टीलरीको १२ करोड २० लाख, नेपाल टेलिकमको १० करोड, अरुण भ्याली हाइड्रोपावरको ८ करोड तथा नेशनल हाइड्रोपावरको ७ करोड ४८ लाख बढीको कारोबार भयो । अपी पावरको ६ करोड ३५ लाख बढीको सेयर कारोबार भएको यो दिन एचआइडिसिएलको ४ करोड ९० लाख, अपर तामाकोशीको ४ करोड ६६ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५२ लाख र निफ्राको ४ करोड ३० लाख बढीको कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तेह्रथुम पावर कम्पनी र यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी बढ्यो । तेह्रथुम पावरको ६.४७ प्रतिशत र यूनाइटेडको मूल्य ६.३२ प्रतिशतले बढेको हो । 

बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.०२ प्रतिशतले घट्यो ।