काठमाण्डौ । सेयर बजार बुम भई सेयर खरिदचाप ह्वात्तै बढ्दै गरेको बेला दोस्रो बजारमा भएका कारोबारबारे जानकारी पाउने एकमात्र आधिकारिक नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ता हैरान भएका छन् ।
यो समस्या आजको मात्रै भने होइन । सूचीकृत कम्पनीका बजारमा जब कुनै पनि धितोपत्रमा उच्च खरिदबिक्रीको चाप पर्नेबित्तिकै नेप्सेको अनलाइन प्रणालीले हावा खान्छ । यसअघि पनि अपर तामाकोशी, शिवम् सिमेन्टलगायतका धितोपत्र सुरुआती कारोबार र उच्च कारोबार हुँदा यस्तो समस्या देखिने प्रवृत्ति रोक्न नेप्से अनुदार बनेको छ ।
आज पनि विगतमा जस्तै नेप्सेको वेबसाइट चलिरहेको छैन । वेबसाइट अत्यन्त ढिला चल्दा हुने समस्या झनै विकराल बन्दै गइरहेको देखिन्छ ।
ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपश्चात करिब ६ महिनापछि आज सोमबारबाट ग्लोबल आईएमई बैंकको सेयर कारोबार खुला भएको छ। तर नेप्सेको वेबसाइट भने निकै सुस्त चल्दा यो स्क्रिप्टमा कारोबार गर्न व्यग्र प्रतीक्षामा विभिन्न ब्रोकर हाउस पुगेका लगानीकर्ता दिक्क भएका देखिए ।
अर्कोतर्फ बजार बढिरहेको बेला अन्य स्क्रिप्टमा पनि खरिदचाप बढिरहेको छ । तर नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ताहरु निराश देखिए ।
नेप्सेको अनलाइन कारोबार प्रणालीमा अनलाइन लिई कारोबार गर्ने लगानीकर्ताको संख्या करिब २० हजारमात्र छन् । दोस्रो बजारमा करिब ५ लाख लगानीकर्ता सक्रिय छन् । यद्यपि बाँकी ९६ प्रतिशत अर्थात् ४ लाख ९६ हजार लगानीकर्ता लगानी निर्णयका लागि नेप्सेकै वेबसाइटमा निर्भर छन् । नेप्सेमा भएका यथार्थ कारोबारले लगानी निर्णयमा ठूलो भूमिका खेलेको हुन्छ ।
अनामनगरस्थित एक ब्रोकर हाउसमा भेटिएका प्रेमबहादुर केसी नेप्सेको वेबसाइट नचलेका कारण नै आफूले सेयर कारोबार गर्न समस्या भइरहेको गुनासो पोखे । नेप्सेको इन्डेक्स र समग्र कारोबार अवस्थाबारे जानकारी दिने नेप्सेको वेबसाइट बजार बढेका बेला कमाउने अवसरबाट वञ्चित गराइएकोमा यसको क्षतिपूर्ति पाउनुपर्ने लगानीकर्ता केसीको माग छ ।
यता नेप्सेले प्रतिसेकेन्ड २० हजार अर्डर गर्न सक्ने नट्समा क्षमता भएको र पूर्ण स्वचालित अनलाइन भएको दाबी गर्दै आएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बजार बढेपछि भिजिटरको चाप बढेकाले वेबसाइट ढिलो चलेको जिकिर गरे । प्रवक्ता पराजुलीले नेप्सेको नयाँ वेबसाइट चलाउन सुझाए । उनले नयाँ वेबसाइट द्रुत गतिमा चलेको पनि दाबी गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19