काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १२.६२ अंकले घटेर २०८४.९३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा भने कारोबार बढेको छ। 

बजार जानकार केशव कोइराला (काका)ले आज केही संस्थागत लगानीकर्ताले बिक्री दबाब दिँदा बजार घटेको बताउँछन्। ‘धेरैजसो बीमा कम्पनीहरुको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएका छन्, जसले गर्दा बजारमा सप्लाई बढेको छ’, उनले भने।

अहिले बजारमा सेक्टर रोटेसन पनि हुन नसकेको कोइराला बताउँछन्। ‘यिनै कारणले बजार २१०० माथि टिक्न सकेन’, उनले भने, ‘आउने साताबाट बजारमा सुधार आउन सक्छ।’

अर्का बजार जानकार यज्ञ घिमिरे आज बजार घट्नुको मुख्य कारण नाफा बुक नै रहेको बताउँछन्। केही संस्थागत र ठूला लगानीकर्ताले बजारमा बिक्री दबाब दिएको उनको भनाइ छ। 

साउन लागेपछि बजार लयमा फर्किने घिमिरे बताउँछन्। ‘किनकि कम्पनीहरुको वार्षिक वित्तीय विवरण पनि आउन थाल्छन्’, उनले भने, ‘मौद्रिक नीति पनि सकारात्मक नै आउने सम्भावना छ। योसँगै साउनबाट बजारमा पैसा पनि आउन सक्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड सर्वाधिक ०.५५ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.३१ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.१९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक २ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.८८ प्रतिशतले घट्दा विकास बैंक समूहमा १.६१ प्रतिशत, लगानी समूहमा ०.७६ प्रतिशत, जीवन बीमा समूहमा १.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६५ प्रतिशत, लघुवित्त समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा १ प्रतिशत, अन्य समूहमा ०.८३ प्रतिशत र व्यापार समूहमा १.६७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २९६ कम्पनीका ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन शिवम सिमेन्टको २३ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको १७ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख रुपैयाँ, नेपाल टेलिकमको ११ करोड ८४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ७ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ८६ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ करोड २८ लाख रुपैयाँ र डिप्रोक्स लघुवित्तको संस्थापक सेयरको ५ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन पिपुल्स हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।