– अनन्त्य सुन्दर

काठमाण्डौ । लगातार घटिरहेको नेप्से परिसूचक आज झन्डै ५० अंकले बढ्यो। झन्डै ६०० अंकको करेक्सन आएको सेयर बजार बढेसँगै लगानीकर्ता उत्साहित देखिन्छन्। 

विगतमा पनि बजार बढ्दा लगानीकर्तामा एक प्रकारको उत्साह देखिन्थ्यो। तर, आज दोहोरो अंकले बजार बढेसँगै लगानीकर्तामात्र नभएर ब्रोकर पनि उत्साहित छन्। 

ब्रोकर उत्साहित हुनुको मुख्य कारण भनेको उधारोमा बेचेको सेयरको पैसा पाउने आशा नै हो। ‘एक लगानीकर्ताले लाखौँको सेयर खरिद गरेको झन्डै ३ हप्ता भयो। अहिलेसम्म भुक्तानी गरेका छैनन्। आज बजार बढेसँगै उनले भुक्तानी गर्ने आश छ’, एक ब्रोकरले भने। 

अधिकांश लगानीकर्ताले वित्तीय अवस्था नै कमजोर भएको कम्पनीमा लगानी गरेको ती ब्रोकर सशंकित पनि देखिए। ‘त्यसैले अहिले ब्रोकरहरुको निद्रा नै हराएको छ’, ती ब्रोकरले भने।

अहिले लगानीकर्ताहरुबाट आफूहरुले झन्डै ४० करोड रुपैयाँ उठाउन बाँकी रहेको अर्का एक ब्रोकरले सुनाए। ‘लगानीकर्ताहरु मेरो त केही लाख रकममात्र बाँकी रहेछ मिलाइदिनु न भन्दै फोन गर्छन् तर हामीसँग त्यस्तो लाख बाँकी भएको सयौँ लगानीकर्ता छन्’, ती ब्रोकरले भने, ‘उनीहरुको घर–घरमा गएर पैसा उठाउने कुरा आएन। लगानीकर्ताहरुले लाख मात्र हो भन्दाभन्दै उठ्न बाँकी रकम करोड पुगिसक्यो।’

‘अहिले अधिकांश नयाँ लगानीकर्ता छन्। १०० रुपैयाँको सेयर खरिद गर्दा २५ रुपैयाँ जम्मा गर्ने र ७५ रुपैयाँ लिमिट दिने चलन छ। अहिले बजार घटेकाले लगानीकर्ताले उक्त ७५ रुपैयाँ पनि तिर्न सक्ने अवस्था छैन’, अर्का एक ब्रोकरले भने, ‘अहिले बजार नै घट्दो क्रममा छ। प्यानिक भएका लगानीकर्तालाई पैसा उठाउन फोन गरेर दबाब दिने कुरा पनि भएन। बजार बढेसँगै उनीहरुले भुक्तानी गर्नेमा आशावादी छौँ।’ 

नेपाल स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बजारबाट झन्डै १२ देखि १५ अर्ब रुपैयाँ उठ्न बाँकी रहेको बताउँछन्। ‘नेपाली सेयर बजार नै क्रेडिटमा चल्ने गरेको छ। तर कारोबार रकम २ देखि ६ अर्बमा खुम्चिएकाले १२ अर्ब ठूलो रकम हो’, उनी भन्छन्, ‘अहिले केही लगानीकर्ता सम्पर्कमा पनि नआएको ब्रोकरहरुको गुनासो छ। ब्रोकरले आफैँले सेयर बेच्न पनि नमिल्ने भोलि त्यो रकम आफैँले व्यहोर्नुपर्ने भएकाले अहिले अधिकांश ब्रोकरहरु आत्तिएका छन्।’ 

मैनाली भन्छन्, ‘बैंकजस्तो ब्रोकरकोमा धितो राख्नुपर्ने साथै कर्जा असुल्न मिल्ने सहज कानुन छैन। त्यसैले पनि अहिले ब्रोकरहरु आत्तिएका हुन्। प्रणालीले गर्दा पनि जोखिम व्यवस्थापनको पनि समस्या आएको छ।’

मैनालीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सेयर खरिद गर्दा लगानीकर्ताहरुसँग दुईवटामात्र विकल्प हुन्छ; १०० प्रतिशत नै पैसा तिर्न कि मार्जिन ट्रेडिङ गर्ने। ‘मार्जिन ट्रेडिङ क्रेडिटमा कारोबार हुने भएकाले ब्रोकरहरुले लगानीकर्तालाई लिमिट दिनुपर्ने हुन्छ। तर मार्जिन ट्रेडिङलाई नै निरन्तरता दिँदा कानुनका साथै कार्यविधिमा संशोधनमा अत्यावश्यक छ’, उनी भन्छन्, ‘१२ करोडको कुल पुँजी भएको एउटा ब्रोकरको अहिले ४० करोड रकम उठाउन बाँकी छ। अहिलेको नियम कानुनअनुसार कुनै पनि ब्रोकर सुरक्षित छैनन्। त्यसैले नियामक निकायहरुको विशेष ध्यान जन अत्यावश्यक छ।’