काठमाण्डौ । सेयर बजार आज दोहोरो अंकले घट्दा कारोबारमा संकुचन आएको छ। होटेल तथा पर्यटन समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। 

आज जीवन बीमा उपसूचक १.४५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९५ प्रतिशतले घट्न पुगेको छ। नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी सेयरभाउ रहेको राष्ट्रिय बीमा कम्पनीबाहेक सबै बीमा कम्पनीको सेयरभाउ आज घटेका छन्। राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ ०.६३ प्रतिशत अर्थात् १०० रुपैयाँले बढेर १६ हजार १०० रुपैयाँ पुगेको छ। 

नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको जम्मा २६ लाख ६६ हजार ३६५ कित्ता शेयर सूचीकृत रहेको छ। कम्पनीको पेड अप भ्यालु २६ करोड ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ। 

बीमा उपसूचक घट्दा पनि आज सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको हो। यो कम्पनीमा संस्थापक समूहको ८७.७५ प्रतिशत र सर्वसाधारण समूहको १२.२५ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

आज बीमा कम्पनीहरुमध्ये सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। यो कम्पनीको सेयरभाउ २.४० प्रतिशतले घटेर ६०९ रुपैयाँमा कायम भएको छ। 

त्यस्तै सानिमा जीआईसीको १.९८ प्रतिशत, हिमालयन लाइफको १.७२ प्रतिशत, नेपाल लाइफको १.७१ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.६८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६५ प्रतिशत, आईजीआई प्रुडेन्सियलको १.४९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४२ प्रतिशत, एसियन लाइफको १.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३४ प्रतिशत, सलिकोको १.३० प्रतिशत, शिखरको १.२९ प्रतिशत, नेपाल पुनर्बीमाको १.१३ प्रतिशत, युनाइटेड अजोडको ०.८१ प्रतिशत, हिमालयन एभरेस्टको ०.६३ प्रतिशत, एलआईसी नेपालको ०.०६ प्रतिशत र एलएलजीको ०.०१ प्रतिशतले घटेको छ। 

त्यस्तै आज सर्वाधिक कारोबार हुने बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। यो कम्पनीको आज ७ करोड ३५ लाख रुपैयाँ माथिको कारोबार भएको छ।