काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १८.६० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २००४.३० को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२९ अंकले घटेर ३८२.९४ को विन्दुमा झरेको छ। हिजोको तुलनामा कारोबार घटेर पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार उपेन्द्र पाठक बजारलाई नेपाल राष्ट्र बैंकको नीगिगत व्यवस्थाले नै प्रभाव पारिरहेको बताउँछन्। ‘आज राष्ट्र बैंकको बोर्ड बैठकबाट सेयर बजारबारे केही निर्णय होला भन्ने थियो तर त्यस्तो केही भएन’, उनले भने, ‘यही कारणले लगानीकर्ता अन्यौलमा पर्दा बजार प्रभावित बनेको हो।’

यद्यपि, बजार धेरै नघटेकोले आशा गर्ने ठाउँ रहेको पाठक बताउँछन्। ‘नीतिगत व्यवस्थामा परिमार्जन राष्ट्र बैंकले ढिलाइ गरेकोले लगानीकर्ताहरु रुष्ट बनेका छन्’, उनले भने, ‘त्यसैले बजारको सुधारका लागि १२ करोडको क्याप हटाउनुका साथै जोखिम भार पनि घटाउनुपर्छ। यसमा एमालेकै ३ पूर्वअर्थमन्त्रीले पनि जोड दिएका छन्।’ 

लगानीकर्ताहरु घटेर बेच्न नचाहँदा आज कारोबार घटेको पाठकको तर्क छ। 

अर्का बजार जानकार प्रकाश रजौरे बजारमा राष्ट्र बैंककै नीतिले प्रभाव पारेको बताउँछन्। ‘यही मौकामा केही ट्रेडरहरुले पनि चलखेल गरेको देखिन्छ’, उनले भने। 

रजौरेले २००० सूचक भए पनि बजार १८०० कै अवस्थामा रहेको बताए। ‘बजारले बुल मार्केटका लागि तयारी गरिरहेको पनि मान्न सकिन्छ’, उनले भने, ‘असोज मसान्त र दसैँको प्रभाव बजारमा धेरै पर्ने देखिँदैन।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमै रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६० प्रतिशत, विकास बैंक समूहमा १.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८८ प्रतिशत, लगानी समूहमा १.२२ प्रतिशत, जीवन बीमा समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५० प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९४ प्रतिशत, अन्य समूहमा १.४१ प्रतिशत र व्यापार समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्से सूचीकृतमध्ये २८२ कम्पनीका ७० लाख ६१ हजार ४०४ कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सन नेपाल लाइफको सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ६ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिलायबल नेपाल लाइफको ५ करोड ८४ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ७९ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड ६२ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४ करोड १३ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ७७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २ करोड ९५ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ९० लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन शुभम पावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।