काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १४.२९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८६४.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ३६०.७८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ५७ करोड रुपैयाँ बढीको मात्रै भएको छ। जुन ६ महिनायताकै न्यून हो। 

बजार जानकार केशव कोइराला (काका) नियामकले आईपीओ र हकप्रदको बाढी ल्याउँदा बजार प्रभावित भएको बताउँछन्। ‘अहिले बजारमा सप्लाई बढी छ, यसले बजार निकै प्रभावित बनेको छ’, उनले भने, ‘बजारमा माग हराएको छ, लगानीकर्ताहरुले पैसा हाल्न चाहिरहेका छैनन्।’

अर्का बजार जानकार सूर्यनारायण पौडेल बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘तर, बजार घटेर १८०० भन्दा तल जाँदैन’, उनले भने, ‘बजार घट्नुको मुख्य कारण भनेको मागभन्दा सप्लाई बढी हुनु हो।’

कारोबार घट्नुले अब घाटामा सेयर बेच्न सकिएको मान्न सकिने पौडेलको भनाइ छ। ‘घाटामा सेयर बेच्न नचाहेकै कारण कारोबार घटेको हो’, उनले भने।

अब लघुवित्त र बीमा कम्पनीहरुले घोषणा गर्ने लाभांशले बजारमा सकारात्मक महौल सिर्जना हुन सक्ने पौडेल बताउँछन्। ‘आउँदा महिनामा ब्याजदर पनि अझै घट्ने भएकोले बजार लयमा फर्किने आशा गर्न सकिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक १.४६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.८५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, वित्त समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५४ प्रतिशत, जलविद्युत समूहमा ०.७८ प्रतिशत, लगानी समूहमा ०.६० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६२ प्रतिशत, लघुवित्त समूहमा ०.८४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६० प्रतिशत, अन्य समूहमा ०.२६ प्रतिशत र व्यापार समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका २२ लाख ५८ हजार १८७ कित्ता सेयर ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सूर्यज्योति लाइफको सर्वाधिक १ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १ करोड ४८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको संस्थापक सेयरको १ करोड ४५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ३४ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ३० लाख रुपैयाँ, एसटीसीको १ करोड २७ लाख रुपैयाँ, सिटिजन लाइफको १ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकको १ करोड १५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज महुली लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सोनापुर मिनरल्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।