– अर्जुन तिमिल्सिना

काठमाण्डौ । दैनिकजसो बजार घट्न थालेपछि नयाँ तथा पुराना सबै लगानीकर्ता अलमलमा परेको देखिन्छन्। ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थितिमा निकै पातलो भएको छ। जसका कारण बजारको चमक हराएको भान हुन्छ।

सेक्योर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) का सञ्चालक एवं स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली पनि अहिले बजारमा उमंग र उत्साह हराउँदै गएको बताउँछन्। उनको विचारमा बजार सुस्ताउनुको कारण मुख्य कारण पैसा अभाव हुनु नै हो।  

कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) सञ्चालक भरत रानाभाट पनि अहिले बजार सुस्ताएको बताउँछन्। ‘बजार सधँै यस्तै त नहोला’, उनी भन्छन्, ‘लगानीकर्ताले पस्ने अवसर कुरेका पनि हुन सक्छन्।’

एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) का सञ्चालक रुद्रप्रसाद शर्मा अहिले बजारमा उमंग नै नरहेको बताउँछन्। ‘पहिलेजस्तो लगानीकर्तामा जोस र जाँगर अहिले देखिँदैन’, उनले भने, ‘बजार अब के हुन्छ भन्ने संसय लगानीकर्तामा पक्कै छ।’

केही ब्रोकरहरुमा लगानीकर्ताले सेयर किनेको पैसा नतिरेको पनि पाइन्छ। ‘कसेर मागौँ ग्राहक बाङ्गो, नमागौँ आफू नाङ्गो !’, एक ब्रोकरले भने, ‘बजार घटेपछि हामी पनि समस्यामै छौँ।’ 

ब्रोकर हाउसहरुमा अहिले चहलपहल घटेको छ। ‘अब चुनावसम्म नै बजार यस्तै पनि हुन सक्छ। अहिलेको चुनाव निकै महँगो छ। स्थानीय निकायको चुनाव भएका कारण जनप्रतिनिधि पनि धेरै छन्। सबैले खर्च जोहो गर्दा पनि बजारमा दबाब आएको हुन सक्छ’, ब्रोकर हाउसमा भेटिएका एक पुराना लगानीकर्ता भन्छन्, ‘अहिले धेरैजसो पुराना लगानीकर्ता आएकै छैनन्। उनीहरु बजारमा भन्दा पनि चुनाव प्रचारप्रसारमा लागेको तस्बिर सामाजिक सञ्जालमा देखिन्छन्।’

अघिल्लोपटक पार्टीहरुको महाधिवेशनको समयमा पनि यस्तै भएको ती लगानीकर्ता बताउँछन्। ‘अब यो स्थानीय निकायको चुनाव नहुन्जेल पनि यस्तै हुन सक्छ’, उनले भने। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आजबाट कोभिड महामारीका कारण बन्द गरिएका ब्रोकर हाउसका डिस्प्ले खोल्न दिने निर्णय गरेको छ। योसँगै ब्रोकर हाउसहरु पनि डिस्प्ले खोल्ने तरखरमा छन्। डिस्प्ले खुलेपछि ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थित बाक्लो हुन सक्ने देखिन्छ।