काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

बजार आज २९.९८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४२.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०२ अंकले घटेर ४७४.३७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल प्रायः चैत महिनामा सेयर बजार घट्ने गरेको बताउँछन्। ‘यो सेयर बजारका लागि अफ सिजन हो’, उनले भने, ‘यो बेला बैंकको ब्याज र कर बुझाउन पनि पैसा जोहो गरिन्छ। संस्थागत लगानीकर्ताहरुले नाफा देखाउन पनि सेयर बेचेका छन्। यिनै सबै कारणले बजार प्रभावित भएको हो।’

ढकाल तरलता संकटले यो बेला बजार प्रभावित भइरहेको बताउँछन्। ‘वैशाख १५ बाट तरलता सहज हुन सक्छ’, उनले भने, ‘अब सरकारी खर्च पनि बढ्छ। ठेकेदारले पनि पैसा पाउने हुँदा तरलता सहज हुन्छ।’

अब कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउन थालेपछि बजार लयमा फर्किन सक्ने ढकालको भनाइ छ। ‘चैतमा धैर्य गर्ने हो, सकभर घट्दो बजारबाट राम्रा कम्पनीहरुको सेयर उठाउने’, उनले भने, ‘आफूसँग भएका सेयर होल्ड गर्ने हो।’

सक्रिय तथा पुराना लगानीकर्ता केशव कोइराला (काका) बैंकको लोन तिर्न सेयर किन्नेभन्दा बेच्ने हाबी हुँदा बजार घटेको बताउँछन्। ‘अर्कोतर्फ तरलता संकट रहेसम्म बजार साइडवेजमै चल्ने देखिन्छ’, उनले भने, ‘तरलताको अल्पकालीन समाधान हुँदैन।’

कोइरालाले अहिले पेनिक हुने अवस्था भने नरहेको बताए। ‘बजार घट्दा आत्तिएर बेच्नुभन्दा होल्ड गर्नु उचित हुन्छ’, उनले भने, ‘सेयर बढेको बेला बेच्ने हो र त्यो समय अवश्य आउँछ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक २.४६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.३६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.५२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७९ प्रतिशत, विकास बैंक समूहमा १.६९ प्रतिशत, जलविद्युत समूहमा ०.८१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४२ प्रतिशत, अन्य समूहमा २.१ प्रतिशत, लघुवित्त समूहमा ०.८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४९ प्रतिशत र लगानी समूहमा १.०८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ४९ लाख ५८ हजार ८१४ कित्ता सेयर २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक २२ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ९ करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ६ करोड ८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६५ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड १६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड १० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८९ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ८८ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दुईवटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपालको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन आईसीएफसी फाइनान्स र सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।