काठमाण्डौ । सोमबार बजार परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकम भने बढेको छ । बजार परिसूचकमा झिनो गिरावट आउँदा कारोबार रकमले भने बजारको साथ नछाड्नुुलाई सकारात्मक संकेतको रुपमा लिनुपर्छ । किनभने बजारमा १० अंकसम्मको घटबढलाई सामान्य रुपमा लिनुपर्छ । 

बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य रकम पर्याप्त रहेको, बैंकहरुले ब्याजदर धमाधम घटाइरहेको, राजनीतिक वातावरणमा सुधार आएको, कम्पनीहरुबाट घोषित लाभांश लगानीकर्ताको खल्तीमा पार्न धमाधम साधारणसभा आह्वान भइरहेको, पहिलो त्रैमासको बित्तीय विवरण अब क्रमशः सार्वजनिक गर्ने क्रम पनि सुरु हुने जस्ता कारणले बजार बढाउनसक्ने विश्लेषकहरु बताउँछन् । बजारमा सेयरको अधिक आपूर्ति बाहेक घट्नुुपर्ने अन्य कारण छैनन् । 

सोमबार नेप्से परिसूचक ३.६२ अंकले घटेर  १५६८.३० को विन्दूमा झरेको हो । कारोबार रकम भने आइतबारको तुलनामा सोमबार वृद्धि भएको छ । 

यो दिन अन्य समूह बाहेक सबैमा रातो पोतियो । बैकिंग समूह २.७३, टेडिंग ८.२८, होटल समूह १३, विकास बैंक १०.७३, जलविद्युत ४.१६, बित्त समूह ४.३७, बिमा समूह ५०.१९ र उत्पादनमूलक ५७.०८ अंकले घटेका छन् । अन्य समूहमा भने १३.८८ अंकको बढोत्तरी भएको छ। 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ०.४७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन सबैभन्दा बढी नेपाल टेलिकमले कारोबार गरेको छ । टेलिकमको ३ करोड ३५ लाख बढीको सेयर कारोबार भएको हो । लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ६२ लाख, प्रभूू इन्स्योरेन्सले २ करोड २२ लाख, बुटवल पावर कम्पनीले १ करोड ४३ लाख बढीको कारोबार गरे । नागबेली लघुवित्त विकास बैंकको १ करोड ३० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम कमर्सियल बैंकले १ करोड २९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १० लाख, सनराइज बैंकले १ करोड ९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनीले सबैभन्दा बढी कमायो । यो कम्पनीको मूल्य ९.२२ प्रतिशतले वृद्धि भयो । जेबिल्स फाइनान्सका लगानीकर्ताले पनि ४.११ प्रतिशतले सम्पत्ति कमाएका छन् । 

यो दिन जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३१ प्रतिशतले घट्यो । विशाल बजार कम्पनीका लगानीकर्ताले ४.४५ प्रतिशतले घट्न पुुग्यो।