-अर्जुन तिमिल्सिना

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सेयर बजारको अहिलेको गिरावट ‘अल्पकालीन’ भएको दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले बजार निकट भविष्यमै २५०० विन्दूभन्दा माथि जाने दाबी समेत गरे । 

‘सेयर बजार ३२०० बाट खसरे २२०० सम्म आउँदा साना–ठूला, सँस्थागत तथा ब्यक्तिगत सबैखालका लगानीकर्ता फसेका छन् ।’उनले भने–‘अघिल्लोपटक बजार २२०० बाट फर्केर २५०० माथि गयो ।  यो समयमा व्यक्तिगत र संस्थागत लगानीकर्ता पुनः बजारमा पसेका थिए । त्यतिबेला बजार पसेकाहरु अधिकांश फसेका छन्।’

अहिलेको अवस्थामा बजारमा लगानी गर्नैका लागि कोही पनि नगद लिएर नबसेको उल्लेख गर्दै उनले थपे–‘हामी पनि नगद लिएर बसेका छैनौं, जे छ सेयर बजारमै छ । बजारमा सबै नै फसेका कारण बजार निकट भविष्यमै एकपटक पुनः २५०० माथि पुग्ने सम्भावना देखिन्छ ।’

ढकालले नियामकले बजार घटबढ हुँदा बोल्नेभन्दा पनि लगानीकर्ताको मनोबल उकास्ने गरी काम गर्नुपर्नेमा जोड दिए । 

नेप्सेले सबै सूचीकृत कम्पनीको पीई रेसियो लगायतका महत्वपूर्ण सूचकहरु प्रत्येक महिना वेबसाइटमा अपडेट गरिदिए यसले लगानीकर्तालाई कम्पनीको बारेमा बुझ्न सजिलो हुने उनको सुझाव छ।

अर्को एक प्रसङ्गमा उनले निकट भविष्यमा धेरै रियल सेक्टरका कम्पनीहरु पूँजी बजारमा आउने समेत बताए । ‘त्यस्ता केही कम्पनीको रोड शो पनि भइरहेको छ ।’ उनले भने ।