काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि झिनो गिरावट आएको छ।

बजार आज ३.०७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०४.९८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले बढेर ३६३.०४ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने १ अर्ब रुपैयाँभन्दा मुनिकै भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजार साइडवेजमा चलेको बताउँछिन्। ‘बजार १९०० माथि नै टिकेको छ’, उनले भनिन्, ‘बजार घट्न पनि मानेको छैन र बढ्न पनि सकिरहेको छैन।’

लगानीकर्ताहरु कम्पनीको तेस्रो त्रैमासको रिपोर्ट पर्खेर बसेको हुन सक्ने तिवारी बताउँछिन्। ‘त्यही कारणले कारोबार सुस्ताएको हो’, उनले भनिने, ‘आजबाट तेस्रो त्रैमासको रिपोर्ट आउन थालेको छ, अब कम्पनीहरुको रिपोर्ट धमाधम आउनेछन्। रिपोर्ट सार्वजनिक भएपछि बजार लय पनि निक्र्यौल होला।’

बजार जानकार यज्ञ घिमिरे पनि बजार सुस्त हुनुलाई लगानीकर्ताहरु सकारात्मक खबरको पर्खाइ बस्दा कारोबार सुस्ताएको बताउँछन्। ‘तेस्रो त्रैमासको रिपोर्ट पनि कस्तो आउला भन्ने लगानीकर्तामा छ’, उनले भने, ‘त्यही कारणले अहिले लगानीकर्ता आक्रमण रुपमा खरिदबिक्रीमा लागेको देखिँदैन।’ 

बजारले अहिले शक्ति सञ्चय गरिरहेको पनि घिमिरेको तर्क छ। ‘बजार अब धेरै घट्दैन’, उनले भने, ‘अब बजार बढ्ने नै हो। अब बुलको सिजन पनि सुरु हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.१७ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह ०.५६ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.१२ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.८९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०१ अंक, विकास बैंक समूहमा ०.३५ प्रतिशत, वित्त समूहमा ०.४२ प्रतिशत, जलविद्युत समूहमा ०.१० प्रतिशत, लगानी समूहमा ०.५६ प्रतिशत, जीवन बीमा समूहमा ०.१२ प्रतिशत, लघुवित्त समूहमा ०.६० प्रतिशत र अनय समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता सेयर ८७ करोड ४ लाख ४८ हजार १५२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक ५ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ३ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ४२ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ४० लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ८१ लाख रुपैयाँ, नागरिक लगानी कोषको १ करोड ८० लाख रुपैयाँ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको १ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशत तथा मोलुङ हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

आज खप्तड लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।