काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९०० तल झरेको छ। 

आज बजारमा १८.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक पनि १८८५.६० को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले घटेर ३५९.१३ को विन्दुमा झरेको छ। कारोबार रकम पनि करिब ८३ करोड रुपैयाँको मात्रै भएको छ। यसले कारोबार पनि दैनिक रुपमा सुस्ताउँदै गरेको प्रस्ट देखिन्छ।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार माथि जान नसक्नुमा तरलताकै अभाव रहेको देखिएको बताउँछिन्। ‘अन्य व्यापार–व्यवसायी सुस्त छन्’, उनले भनिन्, ‘घर–जग्गाको कारोबारमा मन्दी देखिएको छ।’

चाहेको बेला पैसा निकाल्न सकिने ठाउँ सेयर बजार नै रहेको उल्लेख गर्दै तिवारीले त्यसको प्रभाव सेयर बजारमा परेको बताउँछिन्। ‘आउँदै गरेको आगामी आर्थिक वर्षको बजेटमा करलगायतको नीतिगत व्यवस्थामा परिवर्तन भएमा बजारबाट केही आशा गर्न सकिन्छ’, उनले भनिन्। 

बजार जानकार महेश रिजाल ब्रोकरहरुलाई सेटेलमेन्ट गर्न कठिन परेका कारण बजारमा दबाब सिर्जना भएकोबताउँछन्। यद्यपि प्राविधिक रुपमा १८८० मा बलियो सपोर्ट रहेकोले बजार धेरै तल नजाने उनको ठम्याइ छ। 

रिजाल केन्द्रीय बैंकले आउँदो मौद्रिक नीतिको त्रैमासिक समीक्षामा १२ करोडको सीमा हटाउने र जोखिम भार पहिलाकै अवस्थामा ल्याउनुपर्ने बताउँछन्। ‘यी कुरा भएमा बजार चलायमान हुन सक्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै होटेल तथा पर्यटन समूहमा हरियाली छाएको छ भने बाँकी १२ वटामा समूहमा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह ०.३१ प्रतिशतले उकालो लागेको छ। 

आज वित्त समूह सर्वाधिक २.०१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.४७ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.३४ प्रतिशत, विकास बैंक समूहमा १.०४ प्रतिशत, जलविद्युत समूहमा १.१३ प्रतिशत, लगानी समूहमा ०.८२ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, अन्य समूहमा ०.१४ प्रतिशत र व्यापार समूहमा १.४७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँमा किनबेच भएका छन्। 

मोलुङ हाइड्रोपावरको सर्वाधिक ३ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २ करोड ८९ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको २ करोड ३८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ८४ लाख रुपैयाँ, अपी पावरको १ करोड ७९ लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड ६० लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ करोड ५९ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ करोड ५६ लाख रुपैयाँ र सोल्टी होटेलको १ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आदर्श लघुत्तिको सेयरभाउमा १० प्रतिशत तथा कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन गुडविल फाइनान्स र गणपति लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।