काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। बजार फेरि २१०० तल झरेको छ। 

बजार आज ५३.७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से २०९७.२९ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्भेक्स १२.२३ अंकले घटेर ३९०.५२ को विन्दुमा झरेको छ। कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल धेरै दिन बढेको बजारमा आज नाफा बुक भएको बताउँछन्। ‘असार मसान्तको प्रेसर पनि बजारमा देखिएको छ’, उनले भने, ‘होटेललगायत केही सेक्टरमा नाफा बुक भएको छ।’

आजको बजार घटाइले डराइहाल्नुपर्ने अवस्था भने नरहेको रिजाल बताउँछन्। ‘केही अंक गुमाएर बजार २०४० को आसपासबाट फर्किन सक्छ’, उनले भने। 

अर्का बजार जानकार निमानन्द कँडेल पनि आज बजारमा नाफा बुक भएको र असार मसान्तको दबाब परेको बताउँछन्। ‘केही लगानीकर्ताले अन्तिम समयमा आत्तिएर घटेकै मूल्यमा सेयर बेचेको पनि देखिन्छ’, उनले भने, ‘तर, त्यस्तो नीतिगत परिवर्तन नभइसकेकोले डराउनुपर्ने अवस्था छैन।’

केही समय साइडवेज चलेपछि बजार फेरि फर्किने कँडेलको भनाइ छ। ‘पहिलेको १८०० कै विन्दुमा बजार अब आउने सम्भावना छैन’, उनले भने। 

आज लघुवित्त समूह सर्वाधिक ४.७५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.४८ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.३८ प्रतिशत, वित्त समूह २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूह २.७२ प्रतिशत, जलविद्युत समूहमा ३.१५ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९९ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा २.२८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको भएको छ। 

यो दिन हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको २० करोड ८६ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १४ करोड ३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १३ करोड ६८ लाख रुपैयाँ, नागरिक लगानी कोषको १२ करोड ८३ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको १० करोड २२ लाख रुपैयाँ र स्वावलम्बन लघुवित्तको ९ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज बिपिडब्लु लघुवित्त र सिटी होटेलका सेयरधनीहरु मालामाल भए। बिपिडब्लु लघुवित्तको सेयरभाउमा १० प्रतिशत र सिटी होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन श्रृजनशील लघुवित्त र माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा ९ प्रतिशत बढीले ओरालो लागेको छ।