काठमाण्डौ । सरकार र नियामक निकायको पछिल्ला कदमले पुँजी बजारमा नकारात्मक प्रभाव परेको भन्दै लगानीकर्ताहरुले आन्दोलन जारी राखेका छन्। 

लगातार घटेको बजार आज बढे पनि लगानीकर्ताहरुले पुँजीबजार सुधारका लागि लगानीकर्ताहरुले यसअघि पेस गरिएको १८ बुँदा कार्यान्वयन गर्न माग गर्दैै आज दिउँसो सवा ३ बजे माइतीघरमा भेला भएर आन्दोलन जारी राखेका हुन्। उनीहरुले सरकार र नियामकविरुद्ध नाराबाजी गरेका थिए। 

स्वतन्त्र पुँजीबजार सुधार संघको अगुवाइमा जारी आन्दोलनमा सहभागी लगानीकर्ताहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। 

केही समयदेखि सेयर बजार तीव्र रुपमा ओरालो लागिरहेको र आमलगानीकर्ताले छोटो समयमै खर्बौं रुपैयाँको नोक्सानी व्यहोर्नुपरेकोले आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष रोहन कार्कीले बताए। नियामक निकायहरुलाई अझै झन सशक्त रुपमा झक्झक्याउनका लागि र बजार सुधारका लागि काम गरिरहेको विभिन्न संघसंस्था, बुद्धिजीवी, पत्रकारलगायत आमलगानीकर्ता हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 

यसअघि पुँजी बजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्नुका साथै रिले अनसन, आमरण अनसन र धितोपत्र बोर्ड घेराउ गरेका थिए। यसरी आन्दोलन गर्दा पनि आफ्ना १८ बुँदे माग पूरा नभएको भन्दै उनीहरुले फेरि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। 

लगानीकर्ताहरुले बिनाब्रोकर सेयर कारोबार गर्न मिल्ने नियम बनाउन र बैंक शाखाहरुबाट सेयर कारोबार गर्न बैंकहरुलाई लाइसेन्स तथा अनुमति दिनुपर्ने माग अगाडि सारेका छन्।

यसैगरी आफ्नो अख्तियारी दुरुपयोगरी गरी सुनियोजित रुपमा बजार घटाउन लागिपरेका आरोप लगाउँदै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्नुपर्ने माग पनि गरेका छन्। उनीहरुले सीडी रेसियो तत्काल खारेज गर्नुपर्ने माग पनि अघि सारेका छन्।

त्यस्तै विगतमा लगानीकर्ताहरुले गरेका आन्दोलनका मर्मलाई बुझेर त्यतिबेला राखिएका ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि गरेका छन्। 

लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्भ राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई खारेज गर्नुपर्ने लगानीकर्ताको माग छ। 

यसैगरी सेयर धितो कर्जाको सीमा र तोकिएको विद्यमानको १८० दिनको समयावधिलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्नुपर्नेलगायत माग पनि लगानीहरुले अगाडि सारेका छन्।