काठमाण्डौ । बजारको उतारचढावको प्रभाव म्युचुअल फण्डहरुमा समेत पर्ने गर्छ । यस्ता फण्ड व्यवस्थापकहरुले साना साना लगानी जम्मा गरी पूँजीबजारका विभिन्न लगानी उपकरणहरुमा लगानी गर्ने हुँदा उतारचढावले म्युचुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य र नाफामा समेत प्रभाव पर्ने गर्छ । 

पछिल्लो समय बजारमा केही बढेपछि म्युचुअल फण्डहरुको बुकमा पनि सुधार देखिन थालेको छ । अघिल्लो महिनासम्म अधिकांश फण्डहरु घाटामा थिए भने धेरैको न्याभ(नेट एसेट भ्यालू) आईपीओ मूल्य(प्रति इकाई रु. १०) भन्दा पनि कम थियो । तर, मंसिर मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण हेर्दा भने सबैमा केही न केही सुधार देखिएको छ । परिणाम स्वरुप मंसिर मसान्तको वित्तीय विवरण प्रकाशित गरेका १८ फण्डहरुमध्ये ९ वटाको न्याभ रु. १० भन्दा कम छ भने बाँकी ९ वटाको १० भन्दा बढी छ । 

यस्तै, ७ वटा फण्ड मंसिर मसान्तसम्म आइपुग्दा नाफामा गएका छन् भने बाँकी ११ वटा अझै घाटामा छन् । 

यस्ता फण्डहरुले सूचीकृत सेयर, मुद्दति निक्षेप, डिवेञ्चर बण्ड, सार्वजनिक निश्कासन, हकप्रद सेयर लगायतमा लगानी गर्ने गरेका छन् । 

यस्ता फण्डहरुले विशेष गरी वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा कम्पनीहरु, जलविद्युत कम्पनी, होटल, उत्पादन तथा प्रशोधन समूह, लगानी समूहका सेयरमा लगानी गर्ने गरेका छन् । 

विभिन्न म्युचुअल फण्डहरुमा समेत यस्ता फण्डले लगानी गर्ने गर्छन् । 

दोश्रो बजार वा बजारमा उपलब्ध लगानीका उपकरणहरुको विषयमा पर्याप्त ज्ञान नभएका सर्वसाधारणहरुको सानो सानो लगानी भेला पारी एकमुष्ट रुपमा विज्ञहरुको खोजअनुसन्धानपछि विभिन्न सूचीकृत कम्पनी वा लगानी उपकरणमा लगानी गर्ने गरी यस्ता म्युचुअल फण्डहरु सञ्चालन भएका हुन्छन् । यस्ता फण्डहरुको वित्तीय भविष्यमा बजारको उतारचढाव, लगानीको सुझबुझपूर्ण निर्णयमा भर पर्छ । राम्रो नाफामा गएका फण्डहरुले वार्षिक रुपमा राम्रै रिटर्न पनि दिंदै आएका छन् । लगानीको अवधि पूरा भएपछि प्रति इकाई खूद सम्पत्ति मूल्य पनि उचाईमा पुगेको हुनसक्छ र त्यसबेला समेत इकाईधनीलाई लाभ नै प्राप्त हुन्छ । 

पछिल्लो समय केही कम्पनीले खुल्लामुखी फण्ड समेत सुरु गरेका छन् । खुल्लामुखी फण्डको बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत भएर कारोबार हुँदैन । सम्बन्धित कम्पनीमै गएर कारोबार गर्नुपर्ने हुन्छ । यस्ता फण्डहरु पछिल्लो समय नेपालमा एसआईपी(सिस्टेमिक इन्भेष्टमेन्ट प्लान)को रुपमा लोकप्रिय भइरहेका छन् । 

अब हेरौंं म्युचुअल फण्डहरुको मंसिर मसान्तसम्मको न्याभ र नाफा / घाटाको अवस्था :

 

Mutual Fund NAV Profit/Loss for Mangsir
RMF1 9.66 6,681,036
RMF 2 10.37 24,752,833
NBF2 9.60 (48,590,409)
Nabil flexi cap fund(open ended) 9.73 (7,463,740)
NBF3 8.88 (33,578,606)
SFMF 11.06 28,151,788
SFEF 10.04 (9,803,886)
SBCF 9.68 (154,907,982)
MMF1 8.72 (23,219,010)
NIBLPF 9.68 (24,092,090)
NIBSF2 9.02 (37,700,215)
NIC ASIA DYNAMIC DEBT FUND 10.38 18,242,920
NICSF 10.92 (6,840,354)
NICGF 10.90 70,851,765
NICBF 10.31 18,026,902
SLCF 9.58 (24,074,891)
SAGF 10.41 9,057,400
SAEF 11.02 (34,124,657)