– अनन्त्य सुन्दर
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ बाट नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खुद मुनाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाहरुले सीएसआर कोषको पैसा सामाजिक कार्यमा प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेकाले राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई सीएसआर कोषको रकम खर्च गर्ने कार्यविधि बनाउन निर्देशन दिएको छ।
‘संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८’ को मस्यौदा जारी गर्दै राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई विभिन्न प्रदेशहरुमा आठवटा शीर्षकमा खर्च गर्ने निर्देशन दिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि धितोपत्र दलाल अर्थात् ब्रोकर कम्पनीहरुलाई नाफाको १ प्रतिशत सीएसआरमा खर्च गर्ने निर्देशन दिएको थियो। बोर्डले २०७७ पुस २७ मा विज्ञप्ति जारी गर्दै केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्थाका साथै धितोपत्र दलाल अर्थात् ब्रोकर कम्पनीहरुले नाफाको १ प्रतिशत लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा खर्च गर्नुपर्ने निर्देशन दिएको थियो।
‘ब्रोकरहरुले २०७८/७९ बाट नाफाको १ प्रतिशत सीएसआरमा खर्च गर्नुपर्ने भनिएको छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘तर, कोरोना जोखिम बढेकाले उक्त रकम कहाँ र कसरी खर्च गर्ने भनेर अन्योलमा छौँ।’
विगतमा ब्रोकरहरुले आ–आफ्नो ढंगबाट सीएसआरमा खर्च गर्दै आएका थिए। बोर्डको निर्देशनसँगै उक्त कोषको रकम ७ वटै प्रदेशमा वित्तीय साक्षरतामा प्रयोग गर्नुपर्ने अर्का एक ब्रोकर सञ्चालक बताउँछन्। ती सञ्चालक भन्छन्, ‘नाफाको १ प्रतिशतको आधा हिस्सा स्टक ब्रोकर्स एसोसिएसनमार्फत र आधा हिस्सा ब्रोकर आफैँले खर्च गर्ने कुरा भएको छ।’
हरेक ब्रोकरले प्रादेशिक रुपमा खर्च गर्न खर्चिलो हुने भएकाले ब्रोकर्स एसोसिएसनमार्फत कोषको रकम प्रयोग गर्दा सहज हुने ती सञ्चालकले बताए।
बढ्दो बजार र लगानीकर्ताको संख्याका साथै कारोबार रकम पनि उच्च भएकाले ब्रोकरहरुको नाफा विगतको तुलनामा यसपटक आकासिएको देखिन्छ। ब्रोकरहरुको कारोबारअनुरुप नाफा कसैको थोरै र कसैको बढी होला। तर, ५० वटा ब्रोकरको एकीकृत रकम ठूलो हुन जान्छ।
ब्रोकरहरुले सीएसआर कोषको रकम सही सदुपयोग गर्नुका साथै मार्गनिर्देशन गर्न राष्ट्र बैंकले जस्तै धितोपत्र बोर्डले पनि ब्रोकरहरुलाई सीएसआर कोषमा जम्मा भएको रकम कसरी खर्च गर्ने भनेर निर्देशन जारी गर्न आवश्यक छ।
धितोपत्र बोर्डले ब्रोकरहरुलाई कोषको रकम खर्च गर्ने निर्देशन जारी गरेमा अनियमितताका साथै कोषको रकम अनावश्यक फजुल खर्च न्यूनीकरण हुने देखिन्छ। जसका कारण कोष सञ्चालन गर्नुको उद्देश्य, लगानीकर्ता सचेतनाका साथै बजार सुधार तथा विस्तार प्राप्ति हुने देखिन्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19