काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सुधारको भरपर्दो आशा जगाउँदै बजार बन्द भएको छ । कारोबार रकमले बजारलाई निकै दरिलो साथ दिएपछि र बजारलाई बढाउने केही घटनाक्रमहरु समेत एकदुुई दिनमै विकास हुने संभावना रहेकोले आगामी सातादेखि बजारमा राम्रै बढोत्तरी हुनसक्ने अनुमान गरिएको छ । 

केपी ओली नेतृत्वको सरकारले शुक्रबारसम्ममा पूर्णता पाउँदैछ । यो क्रममा मुलुकले नयाँ अर्थमन्त्री पाउनेछ, नयाँ अर्थमन्त्रीको रुपमा सेयर बजारप्रति अनुदार डा. युवराज खतिवडा आउने संभावना निकै कम छ । आइतबारसम्ममा सरकारले बजारसँग सम्बन्धी नीतिसहितको विस्तृत कार्ययोजना समेत सार्वजनिक गर्नसक्छ । यी दुई घटनाक्रमले बजारलाई अनपेक्षित उचाईमा समेत पुर्याउनसक्ने संभावना रहेको विश्लेषकहरुले दाबी गरिरहेका छन् । 

अर्कोतर्फ, नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाले लगानीयोग्य पूँजी अभावको चर्को समस्या भोगिरहेको अवस्थामा केही सुधार ल्याउन सार्वजनिक संस्थानहरुको राष्ट्रबैंकमा रहेको चल्ती खाता बन्द गरी उनीहरुले वाणिज्य बैंकमा खाता खोली निक्षेप राख्नपाउने नीतिगत व्यवस्था गर्दैछ । यो कदमले समेत बजारमा उछाल आउनसक्ने संभावना छ । तरलता अभावको समस्या समाधानका लागि बैंकहरुबीच भइरहेको चर्को ब्याजदरमा निक्षेप तान्ने होडबाजी यो कदमले निस्क्रिय बनाइदिनेछ र त्यसपछि लगानीकर्ताले सस्तो ब्याजदरमै कर्जा पाई त्यसलाई सेयर बजारमा लगानी गर्न सक्ने अवस्था बन्न सक्नेछ । 

सबैभन्दा ठूलो कुरा लामो समयदेखि ‘पर्ख र हेर’को रणनीतिमा बसेका बजारका ठूला(संस्थागत) लगानीकर्ता यी केही परिस्थितिमा सुधार हुनेबित्तिकै सक्रिय हुन थाल्नेछन् र उनीहरुको प्रवेशले बजारमा चमक ल्याउनसक्ने जानकारहरुले दाबी गरिरहेका छन् । 

उता, नेपाल स्टक एक्सचेञ्ज पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको काम समेत अन्तिम चरणमा पुुगेको बताइरहेको छ । बाठा लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणाली आएपछि बजारको चलखेल समाप्त भई नयाँ युुगको सुरुवात हुने र त्यसपछि अहिलेको न्यून विन्दूमा सेयर किन्न नपाइने बुुझेका छन् र उनीहरुले सेयर खरिदारी बढाउन सक्नेछन् । यसले समेत बजारमा सकारात्मक तरंग ल्याउन सक्छ । 

विश्लेषकहरुको यस्तै संभावनालाई यथार्थ नजिक पुर्याउने संकेतको रुपमा बिहीबार बजार परिसूचक ०.१ अंकले मात्र घटेको छ । नेप्से परिसूचकमा झिनो मात्र गिरावट हुँदा कारोबार रकम भने बढेर साढे ४२ करोडको उचाईमा पुुगेको छ । यसले बजारमा सेयर खरीद गर्न खोज्नेहरुको संख्या बढ्दै गएको देखाउँछ र सुस्त बजार बिस्तारै चलायमान भइरहेको प्रमाण समेत हो यो घटना । 

बिहीबार बजारका ४ समूहको सूचकमा बढोत्तरी भएको छ भने बाँकी ५ समूहको सूचकमा झिनो मात्र गिरावट देखिएको छ । 

उत्पादनमूलक समूह ४१.५४ अंकले बढ्दा विकास बैंक समूह ३.०९, अन्य समूह ५.०१ र बित्त समुह ०.२८ अंकले बढेका छन् । 

यस्तै, बैकिङ समूहमा ०.४१ अंकको झिनो मात्र गिरावट देखिएको छ । यसैगरी, बिमा समूह ३४.६६ अंक, होटल समूह ९.९४, जलविद्युत समूह ३.१५ अंक र माइक्रोफाइनान्स समूह ४.४८ अंकले घटेका छन् । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा ०.०८ अंकको मात्र गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका १० लाख ८६ हजार ४१ कित्ता सेयर ४२ करोड ५० लाख ७ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफको साढे ५ करोड बराबरको संस्थापक सेयरको किनबेच भयो । यस्तै, ओम डेभलपमेन्ट बैंकले ३ करोड ६० लाख, सेञ्चुरी बैंकले ३ करोड ३५ लाख बढीको कारोबार गरे । २ करोड ३३ लाख बढीको राष्टिय बिमा संस्थानको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयरतर्फ १ करोड ७९ लाख बढीको कारोबार भयो । प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ६५ लाख, एभरेष्ट बैंकले १ करोड ३३ लाख बढीको कारोबार गरे भने राष्टिय बिमा संस्थानको १ करोड ४ लाख बढीको साधारण सेयर समेत किनबेच भयो । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ९८ लाख र नवील बैंकले ८७ लाख भन्दा बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बोटलर्स नेपाल(तराई) लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । पोखरा फाइनान्सको मूल्य ३.१३ प्रतिशतले वृद्धि भयो । 

नागबेली लघुवित्त विकास बैंकले यो दिन सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।