काठमाण्डौ । सेयर बजार बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। 

आज बजार १८.०६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७६९.१३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ अंकले बढेर ५१६.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

अर्थशास्त्री मीनबहादुर क्षेत्री बजार धेरै अंकले घटेकोले केही दिनदेखि बढिरहेको बताउँछन्। ‘यसअघिको घटाइ अस्थायी थियो’, उनले भने, ‘ब्याजदरको हल्लाले पनि बजार घट्यो, तर अहिले मुद्दति निक्षेपको ब्याजदर एकल विन्दुमै रहेकोले बजार बढ्नलाई टेवा पुगेको देखिन्छ।’

कोरोना महामारीको जोखिम केही कम भएसँगै अन्य क्षेत्रमा पनि चहलपहल बढ्दा सेयर बजारबाट लगानी बाहिरिएको र सोही कारणले बजार केही प्रभावित हुन पुगेको क्षेत्रीको तर्क छ। ‘आज इन्ट्राडे करेक्सन हुँदै बजार बढेकोले पहिलाको विन्दु रिकभरी हुने देखिन्छ’, उनले भने। 

सेयर बजार जोखिमयुक्त क्षेत्र भएकोले लगानीकर्ताहरुले राम्रा कम्पनी छानेर पैसा लगाउँदा उचित हुने क्षेत्रीको सुझाव छ।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार जसरी घट्यो अहिले त्यसरी नै बढिरहेको बताउँछन्। ‘आज बढ्दो बजारबाट केही नाफाबुक भएको पनि देखिन्छ’, उनले भने। 

बजार अब करेक्सन हुँदै माथि नै जाने कँडेलको विश्वास छ। ‘बुलिस ट्रेन्ड सकिएको छैन भन्ने आत्मविश्वास लगानीकर्तामा देखिएको छ’, उनले भने, ‘बजार लगानीकर्ताकै मनोविज्ञानमा चल्ने भएकोले आगामी दिनमा बजार सकारात्मक नै रहने देखिन्छ।’

आगामी मंसिरबाट बैंकको ब्याजदर झर्ने सम्भावना रहेको पनि कँडेल बताउँछन्। ‘तरलता पनि सहज हुँदै जान्छ र बजार पुनः लयमा फर्किन्छ’, उनले भने।

कम्पनीहरुको पहिलो त्रैमासिक रिपोर्ट र लाभांश घोषणाले पनि बजार बढ्न थप भूमिका खेल्ने कँडेलको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह १.४५ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.७ प्रतिशत, व्यापार समूहमा ०.७६ प्रतिशत, वित्त समूहमा ०.३८ प्रतिशत, अन्य समूहमा १.२२ प्रतिशत, लघुवित्त समूहमा १.१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.९ प्रतिशतको बढोत्तरी भएको छ भने लगानी समूहमा स्थिर रहेको छ। 

आज जलविद्युत र उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६८ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.३१ प्रतिशतले घटेको आज विकास बैंक समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको सर्वाधिक ४३ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईसीएफसी फाइनान्सको २० करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १९ करोड ६१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ९७ लाख रुपैयाँ, बेस्ट फाइनान्सको १७ करोड १० लाख रुपैयाँ, अपी पावरको १६ करोड ६० लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड २० लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ६० लाख रुपैयाँ, नेसनल हाइड्रोको ११ करोड ५ लाख रुपैयाँ र आएमडीसी लघुवित्तको १० करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन बेस्ट फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 
आज रैराङ हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।