काठमाण्डौ। केही दिनयता धितोपत्र कारोबार मापक नेप्से परिसूचक २५२० विन्दु र २५६० कै बीच निकै उत्तारचढावपूर्ण अवस्थामा रहेको देखिन्छ। लगातार उकालो बढिरहेको सूचकमा लागेको ब्रेकलाई करेक्सनका रुपमा समेत लिइन्छ।

अहिले प्राइमरी, सेकेन्डरी र माइनर ट्रेन्ड बुलिस नै रहेको सेयर बजार प्राविधिक विश्लेषक अशोककुमार शाहले जिकिर गरे। यद्यपि नेप्सेले २३१२ लाई डाउनसाइड ब्रेक गरे गति परिवर्तन हुने र साइडवेज वा बियरिस ट्रेन्ड जान सक्ने उनी बताउँछन्। 

नेप्सेको पुरानो रेसिस्टेन्स २५२० (आर १) लाई सपोर्टका रुपमा कायम गर्दै क्लोजिङ इन्डेक्स सोभन्दा माथि नै रहेको उल्लेख गर्दै शाह अघिल्लो साताभरि नै २५२० माथिको सपोर्टमा बजार थामिएको बताउँछन्। ‘बजारमा अघिल्लो साता अपसाइड फ्राक्टल बनायो, यसले मार्केट पज (रोक्नु) गर्ने नै हो’, उनले भने, ‘क्लोजिङ बेसिसमा २५२० माथि रहँदासम्म बजार माथि नै जाने सम्भावना रहन्छ, २५२० भन्दा तल डाउनसाइड क्लोजिङ हुन्छ भने त्यसको तत्काल अर्को सपोर्ट २४६० रहेको छ। दोस्रो सपोर्ट २३६६ रहेको छ भने ओभरअल पिभोट सपोर्ट भने २३१२ रहेको छ।’

साप्ताहिक चार्टमा बजारमा तत्काल रिभर्सल प्राइस एक्सनको विकास नभएको शाहको दाबी छ।

प्राविधिक कोणबाट यो साता कुन सेक्टर कस्तो रहला ?

बैंकिङ सेक्टर

बैंकिङ सेक्टरले बुलिगंर ब्यान्ड अपसाइड ब्रेक आउट गरेको र पिभोट रेसिस्टेन्स लाइन (आर १) भन्दा माथि नै रहेको छ। आरएसआई ६० माथि छ। यी ३ वटै कुराले बैंक अपसाइड मुभका लागि सपोर्ट गर्दैछ।

माइक्रोफाइनान्स सेक्टर

माइक्रोमा भने आर २ सम्मको यात्रा तय गरेको र पछिल्लो ४ दिन भने आर १ भन्दा लगातार तल आएर बन्द भएको छ। प्राविधिक रुपमा हेर्दा मुमेन्टममा बिक्री देखाउँछ र यसको तत्काल सपोर्ट ४१६० सपोर्ट छ। दोस्रो महत्वपूर्ण पिभोट सपोर्ट भने ३८६१ रहेको छ। तत्काल रेसिस्टेन्स (आर १) ४४१२ रहेको छ भने दोस्रो महत्वपूर्ण रेसिस्टेन्स ४७८९ रहेको छ।

जीवन बीमा सेक्टर

अघिल्लो हप्ता जीवन बीमा समूहमा सुटिङ स्टार क्यान्डल बनेको थियो। यसले अपसाइड मुमेन्टम पज(रोक्ने काम) गर्न सक्छ। यसको मतलब साइडवेज वा डाउनसाइड करेक्सन आउन सक्छ। कन्फर्मेसनका लागि १८०७९ को लोलाई ब्रेक गरेर आए बल्ल सुटिङ स्टार क्यान्डल कन्फर्म हुन्छ।

निर्जीवन बीमा सेक्टर

तत्काल सपोर्ट १२२४० मा रहेको र दोस्रो महत्वपूर्ण पिभोट सपोर्ट ११५०५ रहेको छ। रेसिस्टेन्समा बिक्री तथा नाफा बुकिङ देखिएको छ।

जलविद्युत सेक्टर

जलविद्युत समूहको तत्काल सपोर्ट १८९२ नजिक रहेको छ भने दोस्रो महत्वपूर्ण सपोर्ट १७८४ मा रहेको छ।