– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबार र यो साताको पहिलो कारोबारमा करेक्सन आएपछि बजार अब के होला भन्ने चासो स्वाभाविकै हो। तर आज बजार बढेर हरियो मारुबोजु बनेको छ। यद्यपि अघिल्लोभन्दा छोटो भएकोले आगामी कारोबारको दिशाले मात्रै बजारको बाटो प्रस्ट हुन्छ। 

त्यसो त सेयर बजारलाई कारोबारले साथ दिएको देखिन्छ। गत सातायताको तथ्यांक हेर्ने हो भने दैनिक औसत कारोबार ६ अर्बभन्दा माथि नै रहेको छ। कारोबार भोलुमलाई नियाल्दा बजारमा ठूलो उत्तारचढाव आउने देखिन्न। भलै सेयर बजारमा आन्तरिक र बाहिरी कारणहरुले तत्काल असर गर्ने र लगानीकर्ताको छिटोछिटो निर्णय लिन बानीले गर्दा छिनछिनमा बजारका औजारहरुमा परिवर्तन आउँछ। 

हामीले आज बजारको विश्लेषण दैनिक तथा साप्ताहिक सूचकांकहरुलाई आधार मानेर गरेका छौँ। संसारमा कहीँ पनि प्राविधिक विश्लेषण सतप्रतिशत हुँदैन। नेपालमा त झनै वास्तविक डाटाको अभाव छ। जस्तै–  प्रि–ओपनमा १० कित्ताले बजार तल–माथि हुने हुँदा प्राविधिक विश्लेषण झनै चुनौतीपूर्ण भएको छ। तर पनि हामीले अन्तर्राष्ट्रिय रुपमा प्रयोग हँुदै आएका केही मुख्य औजारको सहयोगमा बजारको विश्लेषण गर्ने कोसिस गरेका छौँ।

फिवोनासी रिट्रेस्मेन्ट एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ।  ती गोल्डेन अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८, ०.७८ र १०० प्रतिशत हुन्।  जसअन्तर्गत अब बजार घटेमा ०.३८ प्रतिशतको टेवा २६२२ सम्म, ०.५ प्रतिशतको टेवा २५९८ सम्म, ०.६१ प्रतिशतको टेवा २५७७ सम्म, ०.७८ प्रतिशतको टेवा २५४६ सम्म, १ प्रतिशतको टेवा २५०५ सम्म र त्यहाँबाट पनि बजार तल आएमा १.६१ प्रतिशतको टेवा २३८० सम्म लिनेछ। यदि बजार बढेमा ०.६१ प्रतिशतको प्रतिरोध २६६० सम्म, ०.७८ प्रतिशतको प्रतिरोध २७०० सम्म र १ प्रतिशतको प्रतिरोध २७६० सम्म र १.६१ प्रतिशतको प्रतिरोध २९१० सम्म पुग्ने देखिन्छ।

बोलिंगर ब्यान्ड 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो ब्यान्डअन्तर्गत बजार साइडवेज मुभमेन्टमा चलेको देखिन्छ। मूल्य रेखाले विस्तारै मध्य रेखाभन्दा तल आएको र मैनबत्तीरु कालो लामो हुँदै गएकोले तल्लो ब्यान्ड छुन खोजेको देखिन्छ।

एमएसीडी लाइन 

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक भएका छन् तर बुलिस क्रसओभर भइसकेको छैन अर्थात अहिले नै खरिद सिग्नल बनिसकेको छैन। हिस्टोग्राम पनि नेगेटिभ नै छन्। (तस्बिरमा कालो एरोले देखाएका धर्काहरु)

मुभिङ एभरेज रेखा 

बढ्दो बजारमा मुभिङ एभरेजको रेखा वास्तविक मूल्य रेखाभन्दा तल र घट्दो बजारमा वास्तविक मूल्य रेखाभन्दा मुभिङ एभरेजको रेखा माथि रहन्छ। अहिले मुभिङ एभरेजको रेखा मूल्य रेखाभन्दा तल भएकोले बजार अझै बुलिस छ भन्ने बुझिन्छ। आजको कारोबारमा मुभिङ एभरेजभन्दा माथि हरियो क्यान्डल बनेकोले आगामी दिनमा बजार सकारात्मक हुने देखिन्छ। 

आरएसआई विन्दु

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ।  हालको बजारको आरएसआई ५०.०९ रहेको छ। जसको अर्थ हो बजार हाल न्युट्रल जोनमा रहेको छ र अघिल्लो पटक यो विन्दु ७२.५४ को तहमा पुगेपछि करेक्सन आएको थियो भने न्यून ३७.३७ को तहमा आएपछि बजार उकालो लागेको थियो। यो विन्दुलाई आधार मान्दा बजार पर्ख र हेरको अवस्थामा छ भन्ने बुझिन्छ।

नोट : सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ । त्यसैले लगानीकर्ताले लगानी गर्दा आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ।