काठमाण्डौ । साताको चौथो कारोबार दिन बजार लयमा फर्किन खोज्ने संकेत दिंदै बन्द भएको छ । 

लगातार गिरावटको मार खेपिरहेको नेप्से परिसूचक ११०० तल जान खोजेको थियो । तर, लगानीकर्ताहरुले यही बेला खरीदारी बढाउँदा नेप्से परिसूचकमा पुनः सुधार देखिन थालेको हो । यो क्रमले बुधबार पनि निरन्तरता पायो । यो दिन नेप्से परिसूचक ८.३ अंकले बढेर १११७.४६ को विन्दूमा फर्किएको छ ।

नेपालको सेयर बजारमा वाणिज्य बैंकहरुको दबदबा रहने गरेको छ । वाणिज्य बैंकहरुमा खरीद चाप देखिँदा यसले समग्र नेप्से परिसूचकमै सुधार ल्याउने गर्छ । जब वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप बढ्न थाल्छ, तब बजार लयमा फर्किने आशा बढेर जाने विश्लेषकहरु बताउँछन् । 

यो दिन बजारका अधिकांश सूचक हराभरा भएका छन् । बजारमा राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.७४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५९ अंकको बढोत्तरी भएको छ । 

लगानीकर्ताहरुले वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप बढाएका छन् । जसका कारण १९ वटा वाणिज्य बैंकको सेयर मूल्य यो दिन बढेको छ । वाणिज्य बैंकहरुको समूह बैंकिङ समूहको उपसूचकमा ४.९३ अंकको बढोत्तरी भएको छ । 

व्यापार समूह २६.१३ अंकले घटे पनि बाँकी सबै समूहको उपसूचक बढेका छन् । 

यो दिन होटल समूहमा १२.६४ अंक, विकास बैंक समूहमा १४ अंक, जलविद्युत समूहमा ७.५२ अंक, बित्त समूहमा ५.४१ अंक, निर्जीवन बिमा समूहमा २६.६८ अंक, जीवन बिमा समूहमा ६०.१८ अंक, माइक्रोफाइनान्स समूहमा १४.९३ अंक, उत्पादन तथा प्रशोधन समूहमा २२.५९ अंक, म्युचुअल फण्ड समूहमा ०.२५ अंक र अन्य समूहमा १०.२१ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन नेप्से परिसूचकमा सुधार भएर समग्र बजार लयमा फर्कन खोजेको संकेत देखिए पनि कारोबार रकममा भने सुधार भएन । बजारमा १६५ कम्पनीका ७ लाख ३८ हजार ४४६ कित्ता सेयर २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनएमबी बैंकले २ करोड ७५ लाख बढीको कारोबार गरेको छ । 

हिमालयन डिस्टीलरीले १ करोड ७४ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले १ करोड ३४ लाख, नेपाल बैंकले १ करोड १२ लाख, एनआइसी एशियाले ६७ लाख, छिमेक लघुवित्तले ६७ लाख, शिवम सिमेन्टले ४८ लाख, स्वरोजगार लघुवित्तले ४० लाख बढीको कारोबार गरे । 

सिभिल बैंकको ४० लाख बराबरको संस्थापक सेयर किनबेच भएको यो दिन नेको इन्स्योरेन्सले  ३९ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन रिडी हाइड्रोपावर र गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै कमाए । रिडी हाइड्रोको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो भने गोर्खाज फाइनान्सको सेयर मूल्य ९.४३ प्रतिशतले बढ्यो । 

यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६.९२ प्रतिशतले घट्यो ।