काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजारमा ३२.१५ अंकको बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २५७५.६६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.१० को विन्दुमा पुगेको छ।
आज कारोबार रकम पनि बढेर झन्डै सवा ६ अर्ब रुपैयाँबराबरको भएको छ।
बजार जानकार प्रेम ओली आजको बजार बढाइ स्वभाविकै रहेको बताउँछन्। ‘चैतको प्रभाव कम हुँदै गएको देखिन्छ, लगानीको सिजन सुरु भएको छ’, उनले भने।
ओलीले लगानी गर्ने र केही समय होल्ड गरेर राम्रो प्रतिफल पाउन बैंकहरु नै उत्तम हुने बताए। ‘लघुवित्त र इन्स्योरेन्स भने ट्रेडिङका लागि उपयुक्त हुन्छ’, उनले भने।
साना र मझौला खालका बैंकहरुको तेस्रो त्रैमास वित्तीय विवरण पनि राम्रै आउने सम्भावना रहेको ओलीको भनाइ छ। ‘राम्राराम्रा जलविद्युत् कम्पनीहरुको भाउ पनि बढ्ने सम्भावना छ’, उनले भने।
सक्रिय लगानीकर्ता मनीष चुडाल पनि बजार लयमा फर्किएको बताउँछन्। ‘बजारले अब अघिल्लो रेकर्ड ब्रेक गर्ने सम्भावना रहेको छ’, उनले भने, ‘किनकि होलीको बेला लगानी गरेर लक्ष्मीपूजा प्रतिफल खाने चलन सेयर बजारमा हुने हुँदा अब लगानी थप थपिने र पुराना रेकर्डहरु तोकिने सम्भावना छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३९८.३२ अंकले उकालो लागेको छ। निजीवन बीमा समूह १८६.०८ अंकले बढेको आज बैंकिङ समूहमा ८.६८ अंक, होटेल तथा पर्यटन समूहमा ११२.९ अंक, विकास बैंक समूहमा ७.७९ अंक, जलविद्युत् समूहमा ९५.९८ अंक, वित्त समूहमा २.३३ अंक, अन्य समूहमा १०.५१ अंक, लघुवित्त समूहमा १४९.६८ अंक, म्युचुअल फन्ड समूहमा ०.१८ अंक र लगानी समूहमा ०.३७ अंकको बढोत्तरी भएको छ।
आज व्यापार समूह २९.७ अंकले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन समूहमा ०.२२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन निफ्राको सर्वाधिक ४८ करोड ९४ हजार रुपैयाँ बढीको कारोबार भएको छ। निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनएलजी इन्स्योरेन्सको ३३ करोड १६ लाख रुपैयाँ, माथिल्लो तामाकोशी २८ करोड ९७ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २८ करोड १६ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको १६ करोड २३ लाख रुपैयाँ, छिमेक लघुवित्तको १५ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ९८ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ११ करोड ६० लाख रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सको ११ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र समिट लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन स्वाभिमान लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago