काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २४.४४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९५.४९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले घटेर ३७८.३७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी लगानीकर्ताहरु नयाँ अर्थमन्त्रीको पर्खाइमा रहेका कारण बजार सुस्ताताएको बताउँछिन्। ‘लगानीर्ताहरुमा नयाँ अर्थमन्त्रीमा को आउँछ र उनले कसरी सेयर बजारलाई सम्बोधन गर्छन् भन्ने चासो लगानीकर्तामा रहेको छ’, उनले भनिन्। 

समग्र अर्थतन्त्र बुझेको र अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने व्यक्ति अर्थमन्त्री भएर आएमा पुँजीबजारलगायत सबै क्षेत्रमा सुधार हुने तिवारीको भनाइ छ। 

बजार जानकार सरोज भट्टराई अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण कारोबार सुस्ताएको बताउँछन्। ‘राष्ट्र बैंकको सर्कुलरले केही दिनअघि लघुवित्तको सेयरभाउ घट्दा तल्लो लेभलमा उठाएका लगानीकर्ताहरुले आज नाफा बुक गर्दा बजारमा गिरावट आएको हो’, उनले भने। 

बजार अहिले साइडवेजमा चलिरहेको भट्टराई बताउँछन्। ‘यो बेला अल्पकालीनभन्दा पनि दीर्घकालीन योजना बनाएर लगानी गर्दा भविष्यमा राम्रो नाफा कमाउन सकिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक २.६५ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.२८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५८ प्रतिशत, विकास बैंक समूहमा १.४१ प्रतिशत, वित्त समूहमा ०.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४८ प्रतिशत, जलविद्युत समूहमा १.३५ प्रतिशत, लगानी समूहमा ०.८५ प्रतिशत, जीवन बीमा समूहमा १.५४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१० प्रतिशत, अन्य समूहमा १.३० प्रतिशत र व्यापार समूहमा १.२८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ३७ लाख २९ हजार ९७६ कित्ता सेयर १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अपर तामाकोशीको सर्वाधिक ८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्ट ८ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ करोड ३६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २४ लाख रुपैयाँ, युनिभर्सल पावरको ३ करोड १२ लाख रुपैयाँ, छिमेक लघुवित्तको २ करोड ४१ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड २९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ९२ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आदर्श लघुवित्तका सेयरधनीहरु सर्वाधिक कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन बोटलर्स नेपाल (तराई)का सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।