काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा भारी अंकको बढोत्तरी भएको छ।
बजार आज ४७.१५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २२११.७६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६८ अंकले बढेर ४१९.९१ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा सामान्य घटेर सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल बजार मजबुत हुँदै गएको बताउँछन्। केही दिनअघि अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर अर्थतन्त्र सुधारका लागि निर्देशन दिएका प्रधानमन्त्रीले आज पुँजीबजारका विषयमा सम्बोधन गर्नुले पनि बजार बढेको उनको भनाइ छ।
अल्पकालीन लगानीकर्ताहरु पछि हट्दै जानु र करेक्सन आएपछि छिर्ने दाउमा रहेकाहरु पनि बजार पस्नुले बजार थप सकारात्मक बनेको रिजाल बताउँछन्। ‘बजारमा २२००–२३०० को बीचमा थोरै करेक्सन आउन सक्छ’, उनले भने।
अर्का दामोदर गजुरेल बजार धेरै घटेकोले अहिले बढिरहेको बताउँछन्। ‘बजार बढ्नलाई कुनै बहाना खोजेको थियो’, उनले भने, ‘अहिले सरकार पुँजीबजारमैत्रीजस्तो देखिएकोले पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ।’
प्राविधिक रुपमा पनि बजार बुलिस नै रहेको गजुरेलको भनाइ छ। ‘भोलि विश्वासको मत लिएको खण्डमा बजार थप माथि जानेछ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ४.९४ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.२५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.११ प्रतिशत, वित्त समूहमा ३.१८ प्रतिशत, लगानी समूहमा २.५३ प्रतिशत, जीवन बीमा समूहमा १.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.८१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५२ प्रतिशत, अन्य समूहमा १.८७ प्रतिशत र व्यापार समूहमा ३.१५ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह ०.१७ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन रिडी पावरको सर्वाधिक २० करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको १६ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १६ करोड ७८ लाख रुपैयाँ, शिवम सिमेन्टको १३ करोड १ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड रुपैयाँ, अपी पावरको ११ करोड ५७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १० करोड ३७ लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड ५ लाख रुपैयाँ र नेपाल टेलिकमको ८ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाने र धेरै गुमाउने
आज १४ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर र खप्तड लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा राधी विद्युत, बाराही हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाइड्रोपावर र आँखु खोला जलविद्युतमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
कुमारी धनवृद्धि योजनाका इकाइमूल्य र घलेम्दी हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago