काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको बढोत्तरी भएको छ। 

बजार आज ४३.२० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६५.३६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.०९ अंकले बढेर ३८७.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट बजार जुन कारणले घटेको थियो, त्यही कारणले बढेको बताउँछन्। ‘अब मुद्दति निक्षेपको ब्याजदर केही घट्ने संकेत देखिएको छ’, उनले भने, ‘बढ्दो ब्याजदरका कारण उद्योगी–व्यवसायीहरु पनि आन्दोलनमा उत्रिरहेका छन्। त्यसैले ब्याजदर घट्ने आशामा लगानीकर्तामा बढ्दा बजार बढेको हो।’

अर्का बजार जानकार महेश रिजाल पनि ब्याजदर घट्ने आशले बजार बढेको बताउँछन्। ‘अघिल्लो साताको अन्तिम कारोबारमा ब्रोकर कम्पनीहरुको ओडी नवीकरण नहुने हल्लाले बजार घटेको हो, नत्र त्यो दिन पनि बजार बढ्थ्यो’, उनले भने। 

ब्याजदरको विषयमा उद्योगी–व्यवसायी आन्दोलन गरिरहेका कारण ब्याजदर घट्न सक्ने रिजालको भनाइ छ। ‘पर्यटन क्षेत्रमा सुधार आउनु र रेमिट्यान्स पनि बढ्दै जानुले तरलता पनि सहज हुँदै गएको अवस्था छ’, उनले भने, ‘त्यसैले विस्तार सेयर धितो कर्जा पनि सहज रुपमा पाइन सक्छ, यसले बजारमा सकारात्मक प्रभाव पार्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ४.५८ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.०८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा २.९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२९ प्रतिशत, विकास बैंक समूहमा २.६४ प्रतिशत, जलविद्युत समूहमा ३.३५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.८१ प्रतिशत, अन्य समूह ४.०५ प्रतिशत, जीवन बीमा समूहमा १.०६ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूह ०.०५ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँमा किनबेच भएका छन्। 

आज नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १० करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेस्ट बैंकको ७ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४७ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४४ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको ३ करोड ८९ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५४ लाख रुपैयाँ र फरवार्ड माइक्रोफाइनान्सको ३ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज अधिकांश लघुवित्त संस्थाहरुको सेयरभाउमा उछाल आएको छ। मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा उन्नति सहकार्य लघुवित्त, श्वेत–गंगा हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन सिटिजन्स बैंकका सेयरभाउमात्रै ०.५३ प्रतिशतले ओरालो लागेको छ।