काठमाण्डौ । साताको पहिलो दिन आइतबारको कारोबार र बजारको प्रवृतिले आगामी दिनमा डरलाग्दो पहिरो जाने संकेत दिएको छ । आम निराशाकाबीच नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारि गिरावट आएपछि यसले आगामी दिनमा बजारमा ठूलै पहिरो जानसक्ने संकेत दिएको भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् । यस्तो बेलामा निकै सम्हालिएर लगानी गर्नुपर्नेमा उनीहरुको जोड छ । 

घट्दो बजारमा बढोत्तरीको झिनो आशाबीच बजारलाई नियालिरहेका लगानीकर्तालाई साताको पहिलो कारोबार दिनले थप निराश बनाएको हो । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बजार ९.२२ अंकले घटे पनि ६० करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । तर आइतबार(आज) नेप्से परिसूचक र कारोबार रकम दुवैतर्फ ठूला पहिरो गएका छन् । नेप्से परिसूचक २१.८८(१.४२ प्रतिशत) अंकले घट्यो भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा २० करोड घटी ४० करोड ९ लाखमा यतिमा सीमित बन्न पुुग्यो । 

बजारमा तरलताको अभाव चुलिँदो अवस्थामा रहेका कारण बैंकहरुले मुद्धती निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि अधिकांश लगानीकर्ता सेयर बजारको जोखिमबाट उम्किदै सेयर बिक्री गरेर आफूसँग भएको पैसा त्यहाँ लगाइरहेका छन् । ब्याजदरकै कारण लगानीको अन्य विकल्पहरु बढी सुरक्षित देखेका उनीहरुले सेयर बिक्रीको हतारो देखाएका छन् । अहिले अधिकांश लगानीकर्ता अवस्थालाई केही दिन हेरेर मात्र अगाडि बढ्ने रणनीतिमा छन् । पर्ख र हेरको यो रणनीतिले उनीहरु निस्क्रिय बस्दा समेत बजारमा पहिरो गएको हो । त्यस्तै, संस्थागत लगानीकर्ताहरु समेत भविष्यमा ठूलो प्रतिफल नपाइने आँकलन गर्दै बजारबाट भाग्न खोजिरहेका छन्, यसले समेत बिक्रीको चापलाई बढाएको छ । 

त्यति मात्र होइन, चुक्तापूँजी चार गुणा बढी पुर्याउनुपर्ने चटारोले बजारमा हकप्रद र बोनस सेयरको बाढी आएको छ । माग भन्दा आपूर्ति ज्यादा हुँदा बजार घट्न स्वभाविक रुपमा दवाब पुुगेको छ । 

आइतबार उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा रातो पोतियो । जलविद्युत र होटल समूहमा ठूलै पहिरो गयो । जलविद्युत समूहको सूचक ३.८२ प्रतिशत र होटलको सूचक ३.५६ प्रतिशतले घट्यो । वाणिज्य बैंक समूहमा १८.२९ अंकको गिरावट देखियो भने बिमा समूहमा १४७.५ अंकको पहिरो गयो । विकास बैंक, बित्त र अन्य समूहमा क्रमशः २३.९८, ११.८४ र २.६१ अंकको गिरावट देखियो । उत्पादनमूलक समूह चाहि ११.७ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार कुनै पनि कम्पनीको कारोबार ५ करोड पुुगेन । धेरै कारोबार गरेको एभरेष्ट बैंक ३ करोड १७ लाखमा अडिनुपर्यो भने शिखर इन्स्योेरेन्सले २ करोड ७७ लाखको कारोबारमै यो सूचिमा दोश्रो स्थान बनायो । सिद्धार्थ बैंकले २ करोड ५० लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड १८ लाखको कारोबार गर्यो । एनबी बैंकले १ करोड, माछापुच्छेले पनि एक करोडको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा परेका ४ कम्पनीको कारोबार एक करोडमुनिमै सीमित रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारलाई निराशाको बादलले छेक्दा समेत नमस्ते बित्तीय संस्थाले ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढायो । एनबी इन्स्योरेन्सको सेयर मूल्य पनि ७.४१ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

१ सय ४१ कम्पनीको कारोबार भएकोमा १६ कम्पनीले मात्र सेयर मूल्य झिनो अंकले बढाए भने बाँकी सबैमा सानोदेखि ठूलोसम्म पहिरो गयो । 

घट्दो बजारमा तीन कम्पनीले ठूलै पहिरोको झट्का भेटे । अपी पावर र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो भने अरुण फाइनान्सले समेत साढे ९ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो । 

त्यसपछि ३ कम्पनीले ५ प्रतिशत भन्दा बढी, ८ कम्पनीले ४ प्रतिशत भन्दा बढी र १२ कम्पनीले ३ प्रतिशत भन्दा बढी घाटा व्यहोरे । 
 

आखिर बजारमा किन यसरी पहिरो गइरहेको होला ? के बजार अझै घट्नसक्छ ? पढ्नुहोस् यो समाचार :