काठमाण्डौ । नयाँ वर्षसँगै लगातारको वृद्धिसँगै आइतबार उछाल आएको बजारमा सोमबार करेक्सन भएको छ । 

सर्टटर्म कारोबारीले वाणिज्य बैंकहरुको सेयर मूल्यमा उछाल आएको मौकामा बिक्री गरी प्रफिट बुक गर्ने हतारोले बजारमा ७.२६ अंकको करेक्सन देखिएको छ । 

यसलाई स्वभाविक करेक्सन मान्न सकिने र बजार निकै मजबुत बन्दै गएको यो दिन पनि १ अर्ब ३ करोड माथि पुगेको कारोबार रकमले देखाउने उनीहरु बताउँछन् । 

नेप्से परिसूचक घटेर १२५६.९४ विन्दूमा झरेको यो दिन सेन्सेटिभ इण्डेक्स २.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा ०.८३ अंकको गिरावट आएको छ । 

पछिल्लो समय लगानीकर्ताहरु वाणिज्य बैंकको सेयरमा मरिहत्ते गरिरहेका छन् । तेश्रो त्रैमासमा केही बैंकले देखाएको उत्साहजनक प्रगतिले समग्र उद्योगले राम्रो प्रगति गर्नसक्ने अपेक्षाले यो समूहमा उछाल आइरहेको छ । बिग मर्जरको बजार हल्लाले समेत वाणिज्य बैंकको मूल्य बढाउने काम गरिरहेको छ । 

अर्कोतर्फ, सामान्य अनुपातमा घटेको ब्याजदर, सहज बन्दै गएको तरलताको अवस्था लगायतले समेत बजारका लगानीकर्ताको मनोबल मजबुत बनाइदिएको छ । 

बजार लगातार घटेका कारण अब बढ्ने समय सुरु भएको भन्दै ठूला र संस्थागत लगानीकर्ता समेत सक्रिय बन्दा कारोबार रकम हिजोदेखि १ अर्ब माथि पुग्न थालेको हो । 

सोमबारको कारोबारमा भने कतिपय लगानीकर्ता बैंक छाडेर बिमा कम्पनीमा सिफ्ट भएका देखिएको छ । यहीकारण समेत बैंकिंग समूह घट्दा बिमा समूहमा भने उछाल देखिएको छ । 

यो दिन वाणिज्य बैंक समूहको सूचकमा १३.८९ अंकको करेक्सन देखियो । विकास बैंक समूह १२.९८ अंकले घटेको यो दिन होटल समूहमा २४.९७ अंक, जलविद्युत समूह १.८८ अंक, बित्त समूह १.५२ अंक, माइक्रोफाइनान्स समूह २०.९८ अंक र अन्य समूह ४.९७ अंकले घटे । 

यो दिन लगानीकर्ताहरुले वाणिज्य बैंकको सेयर बेचे पनि बिमा कम्पनीको सेयर खरीदारी भने बढाए । यहीकारण जीवन बिमा समूह १५४.२९ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको सूचक ६४.८५ अंकले बढेको छ । उत्पादनमूलक समूहमा २३.९८ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६८ कम्पनीका ३२ लाख २२ हजार २५६ कित्ता सेयर १ अर्ब ३ करोड ७६ लाख ४३ हजार २९१ रुपैयाँमा किनबेच
भयो ।

सबैभन्दा बढी नेपाल बैंकले ९ करोड ३६ लाख बढीको कारोबार गर्यो ।

सिभिल बैंकले ३ करोड ८५ लाख बढीको कारोबार गरेको यो दिन प्रभु बैंकले ३ करोड ८२ लाख, एनआइसी एशियाले ३ करोड ८० लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ७९ लाख, नेको इन्स्योरेन्सले ३ करोड ४६ लाख, एनएमबी बैंकले ३ करोड ४४ लाख, एभरेष्ट बैंकले ३ करोड १६ लाख, नेपाल बंगलादेश बैंकले २ करोड ९७ लाख बढीको कारोबार गरे । यो दिन नवील बैंकको २ करोड ९३ लाख बढीको संस्थापक सेयर कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै कमाए । कम्पनीको मूल्य सबैभन्दा बढी ९.७७ प्रतिशतले बढ्यो । 

माउन्टेन हाइड्रोका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.२० प्रतिशतले घट्यो ।