काठमाण्डौ । बजार खुलेको १२ मिनेटमै हिमालयन डिस्टीलरी लिमीटेडको सेयर मूल्यमा उछाल आएपछि पोजिटिभ सर्किट लागेको छ। 

हिमालयन डिस्टीलरीको सेयरमा उच्च खरीद चाप देखिएसँगै मूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि बजार खुलेको १२ मिनेटमै सर्किट लागेको हो । 

पोजिटिभ सर्किटसँगै यो कम्पनीको मूल्य वर्ष दिन यताकै उच्च विन्दूमा पुगेको छ । सर्किटसँगै हिमालयन डिस्टीलरीको मूल्य प्रतिकित्ता १८१० रुपैयाँको उचाईमा पुगेको हो । 

मंगलबार पनि यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको उछालसँगै पोजिटिभ सर्किट लागेको थियो । 

बुधबार कारोबार खुलेदेखि नै हिमालयन डिस्टीलरीको सेयरको उच्च माग देखिएको थियो।

पोजिटिभ सर्किट लागी कारोबार बन्द हुँदासम्मको अवधिमा यो कम्पनीको ५३० कित्ता खरीद अर्डर र ४२९ कित्ता बिक्री अर्डर पोस्ट भएको मार्केट डेप्थमा देखिएको छ । 

हिमालयन डिस्टीलरीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा राम्रो प्रगति गर्ने हल्लाका बीच लगानीकर्ताहरुबीच यो कम्पनीको सेयर खरिदारीको होड नै चलेको छ । 

तेश्रो त्रैमासको प्रगतिका आधारमा चौथो त्रैमासको प्रगति विवरण आँकलन गर्न सकिने र त्यसका आधारमा कम्पनीले यो वर्ष दिनसक्ने लाभांश समेत अनुमान गर्न  सकिने भएकोले लगानीकर्ताले मरिहत्ते गर्दै हिमालयन डिस्टीलरीको सेयर उठाएका हुन् । 

यो कम्पनीले गत वर्ष लगानीकर्तालाई २० प्रतिशतको हाराहारीमा नगद लाभांश वितरण गरेको थियो । यो वर्ष त्यो भन्दा राम्रो लाभांश वितरण गर्ने हल्लाले बजारमा काम गरेको देखिन्छ ।