काठमाण्डौ । मंसिरको दोस्रो सातादेखि एकाएक चम्केको सेयरबजारमा पुसको पहिलो साताबाट पुनः चमक आउन थालेको छ ।

बैंकहरुले सेयर मार्जिनमा सुरक्षित लगानी ठानेर ‘सेयर लोन’ मा ब्याजदर र ऋण प्रवाहमा अधिक लचकता अपनाएसँगै बजारमा सस्ता कम्पनीका सेयरहरु धमाधम लगानीकर्ताहरुले किन्ने होडबाजी नै चलेको छ ।

बुलिस बजारको संकेत भएसँगै लगानीकर्ताहरुले पनि सूचीकृत कम्पनीका सेयरमा खरिदचाप बढाएको देखिन्छ । बजारको ट्रेन्ड हाल दुई–तीनवटा स्क्रिप्ट चलाउँदा सेयरमूल्यमा औसतमा ५० रुपैयाँ अल्पकालीन नाफा खाने दौडमा लगानीकर्ताहरु झुम्मिएका देखिन्छन् ।

नेप्सेमा बजार पुँजीकरणका हिसाबले टप १० भित्र उपस्थिति जनाएको एचआईडीसीएलले आज बजार लिड गर्दा कतिपय कम्पनीका सेयरहरुमा समेत उछाल आएको हो ।

कुनै एउटा ब्रोकर हाउसमा एक ठूला लगानीकर्ताले शिवम सिमेन्टको सेयर भारी मात्रामा उठाउँदा यसको सेयरमूल्यमा झन्डै सर्किट लाग्न पुग्यो । शिवमले तिर्नुपर्ने विद्युत्को बक्यौता रकममा सरकारले लचकता अपनाउँदा लगानीकर्ताहरुमा सकारात्मक मनोविज्ञान हावी भएकाले पनि करिब ६ करोड रुपैयाँबराबरको कारोबार प्रतिकित्ता ४५७ रुपैयाँसम्म भयो ।

आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा १७.७७ अंकले बढोत्तरी आउँदा ११६८.५८ विन्दु र सेन्सेटिभ इन्डेक्स २.९४ अंकले वृद्धि हुँदा २५४.५३ विन्दुमा पुग्यो ।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये १७७ कम्पनीका १७ लाख ५४ हजार ३६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार ५४४ रुपैयाँमा कारोबार भयो । 
यस दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ११ वटामा हरियाली छायो भने म्युचुअल फन्डमा रातो पोतियो । म्युचुअल फन्डमा ०.०९ अंकको गिरावट आयो ।

यो दिन सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा र उत्पादन तथा प्रशोधनमा क्रमशः १७०.८८, १५८.८ र ११३.८९ अंकको बढोत्तरी भयो ।

त्यस्तै बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, अन्य र लघुवित्त समूहमा क्रमशः ३.३२, १५.५७, ४६.९९, १६.४४, ७.७६, ११.५४, ३१.६४ र ३०.७४ अंकको बढोत्तरी भयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन शिवम सिमेन्टले उच्च कारोबार गर्न सफल भयो । यो कम्पनीले करिब ५ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार गर्यो । त्यस्तै नबिल बैंक र नेपाल बैंकले पनि उच्च कारोबार गरे । दुवै बैंकले क्रमशः ४ करोड ९९ लाख, ४ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।

यस्तै एनसीसी बैंक, नागरिक लगानी कोष, एनएमबी बैंक, हिमालयन डिस्टिलरीले पनि क्रमशः ३ करोड ७४ लाख, ३ करोड ४८ लाख, ३ करोड १९ लाख र २ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार गरे । यसैगरी एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र देवः विकास बैंक लिमिटेडले पनि क्रमशः १ करोड ९२ लाख, १ करोड ३५ लाख र १ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।

धेरै कमाउने, धेरै गुमाउने

यस दिन नागरिक लगानी कोषका सेयरधनीहरुले सबैभन्दा धेरै कमाए । यसको सेयरमूल्यमा १० प्रतिशतको वृद्धि भएर पोजिटिभ सर्किट लग्यो । 

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, सपोर्ट माइक्रोफाइनान्स, शिवम सिमेन्ट, गुराँस लघुवित्त र सिर्जना फाइनान्सका सेयरधनीहरुले पनि राम्रै कमाए । यी सबै कम्पनीका सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा झन्डै ९ प्रतिशत, आशा लघुवित्तको सेयरमूल्यमा झन्डै ८.५ प्रतिशत र आईएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीको सेयरमूल्यमा झन्डै ८ प्रतिशतको बढोत्तरी भयो । 

यस दिन पाँचथर पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाउन पुगे । यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतले गिरावट आयो ।