काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक भारी अंकले वृद्धि भएको छ।

आज परिसूचक ७२.२८ अंकले उकालो लाग्दै नेप्से २००४.३९ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.१० अंकले बढेर ३८२.७७ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम भने साढे ६ अर्ब रुपैयाँ बढीमा सीमित हुन पुगेको छ।

सेयर कारोबार हुने नियमित समयको दोस्रो प्रहरसम्म निकै उत्तारचढावपूर्ण अवस्थाबाट गुज्रेको नेप्से सम्हालिँदै अन्त्यमा २ हजार विन्दुमाथि नै उक्लेर बजार बन्द भएको छ। राष्ट्र बैंकले सेयर धितोकर्जामा कडाइ गर्ने र पुनरावलोकन विषयमा मौद्रिक नीतिमा समीक्षा गरेपछि त्यसको नकारात्मक असरले हिजो आइतबार परिसूचकमा १२३ अंकको भारी गिरावट आएको थियो। तर पछि राष्ट्र बैंकले तत्काल सेयर धितोकर्जाका विषयमा पुनरावलोकन नहुने संकेत गरेपछि लगानीकर्ताहरुको खस्केको मनोबल उकासिएको हो। 

बुलिस ट्रेन्डमा कुदिरहेको बजारमा बजारका सरोकारवाला पक्ष सबैले नै करेक्सन आउनुपर्ने र निरन्तरको बजार बढाइ स्थायी नहुने दाबी गरेका थिए। हिजै तेहेरो अंकले बजारमा गिरावट आएकोमा आज करिब ५५ प्रतिशतले बजार रिकभर भएको देखिन्छ।

बजारका प्राविधिक विश्लेषक तथा आधारभूत विश्लेषकहरुले समेत आज बजार बाउन्सब्याक हुने दाबी गरेका थिए। नेप्से १९५० विन्दुभन्दा माथि गए अब निकट समयमै ननस्टप बजार बढेर २३०० विन्दु चुम्ने प्राविधिक विश्लेषकहरु जिकिर गर्छन्।

आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ६९८.८१ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४०५.५४ अंकले बढेको आज बैंकिङ समूह ३१.९१ अंक, व्यापार समूह १३०.९ अंक, होटेल्स् समूह ६०.०६ अंक, विकास बैंक समूह ४३.२५ अंक, जलविद्युत् समूह ९८.४७ अंक, वित्त समूह २०.६५ अंक, उत्पादन तथा प्रशोधन समूह २२४.७७ अंक, अन्य समूह ८०.५ अंक, लघुवित्त समूह १२७.५५ अंक र म्युचुअल फन्ड ०.०८ अंकले बढेका छन्। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको ४७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल टेलिकमको ३३ करोड ७४ लाख रुपैयाँ, प्रभु बैंकको २५ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २४ करोड ३६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १९ करोड ७३ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १६ करोड ३५ लाख रुपैयाँ, नेपाल बैंकको १४ करोड ७६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त, माथिल्लो तामाकोशी र सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। 

आज एनआईसी एसिया डिबेन्चेर २०८३/८४ को इकाइमूल्यमा सबैभन्दा बढी २ अंकको गिरावट आएको छ।