काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सुरुआती चरणमा निकै आक्रामक ढंगले अगाडि बढे पनि अन्तिम अवस्थामा झिनो अंकको वृद्धिका साथ बन्द भएको छ।
आज परिसूचक ३.६६ अंकको बढोत्तरीका साथ २६४०.३४ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.२० अंकको गिरावटका साथ ४७९.५८ को विन्दुमा सीमित बनेको छ। कारोबार रकम भने पौने ९ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार विश्लेषक प्रेम ओलीले बजार गति सकारात्मक नै रहेको बताउँछन्। ‘विगत ४५ दिनमा बजार २००० बाट झन्डै २७०० अंकको नजिक पुगेको छ’, उनले भने, ‘अब लगानीकर्ताहरुले आउँदो ४५ दिनमा बजार कस्तो दिशा लिन्छ भन्ने हो, मेरो बुझाइमा नेपाली नयाँ वर्षसम्ममा बजार ३००० को विन्दुसम्म पुग्छ।’
लगानीकर्ताहरु खासगरी सेक्टरवाइज लगानी गरिरहेको अवस्था रहेको ओलीको भनाइ छ। ‘आज जलविद्युत् समूह चल्नुको अर्थ पनि त्यही हो’, उनले भने।
ब्याजदरमा पनि तत्काल कुनै परिवर्तन नआउने संकेत देखिएकोले सेयर धितो कर्जा लिएर चल्नेहरु खासै डराउनुपर्ने अवस्था नरहेको ओली बताउँछन्। ‘आगामी हप्तामा अदालतबाट हुने संसदका विषयमा लगानीकर्ताहरुबीच केही अन्यौलता देखिन्छ, बजार आज तलमाथि हुनुको मुख्य कारण पनि यही नै हो’, उनले भने, ‘तर नेपाली सेयर बजारमा राजनीतिको विगतको इतिहास हेर्दा पनि सीमित समयका लागि मात्र प्रभाव पर्ने हुँदा, अहिले यसको प्रभाव पनि त्यही नै हो।’
सक्रिय लगानीकर्ता रघुनाथ अधिकारीले आज धेरै बढेका माइक्रो र निर्जीवन बीमा समूहमा करेक्सन आएको बताए। ‘लगानीकर्ताहरु बढ्दो बजारबाट लघुवित्त र निर्जीवन बीमा कम्पनीहरुबाट नाफा बुक गरेर जलविद्युततिर लागेको देखिन्छ’, उनले भने, ‘कारोबार खास नघटेको र लगानीकर्ताहरुको मनोबल पनि उच्च रहेकै कारण बजार बुलिस ट्रेन्डमै रहने देखिन्छ।’
बजारमा निफ्रा, ग्लोबल आईएमई र माथिल्लो तामाकोशीको सेयर माग पनि लगानीकर्ताहरु सेक्टरवाइज रुपमा लगानी विस्तार गरिरहेको पुष्टि हुने अधिकारीले बताए।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने बाँकी ५ समूहमा रातो पोतिएको छ।
यो दिन जलविद्युत् समूह सबैभन्दा बढी ८३.२७ अंकले उकालो लागेको छ। अन्य समूह ३९.९१ अंकले बढेको आज व्यापार समूहमा १६.५ अंक, होटेल्स् समूहमा १२.१७ अंक, विकास बैंक समूहमा २९.३२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४.४४ अंक र म्युचुअल फन्ड समूहमा ०.८२ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक ३६१.४६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ८३.८८ ले घटेको आज बैंकिङ समूहमा ७.१३ अंक, वित्त समूहमा ४.१८ अंक र लघुवित्त समूहमा ४५.४६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्से सूचीकृतमध्ये २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९७६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल बैंकको सर्वाधिक ६१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ५५ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको ३१ करोड २२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३० करोड ६६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २७ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको २५ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ४२ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको २२ करोड ७० लाख रुपैयाँ, सिभिल बैंकको २१ करोड ४४ लाख रुपैयाँ र नागरिक लगानी कोषको १८ करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन माथिल्लो तामाकोशी र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा निफ्रा, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स, समृद्धि फाइनान्स र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यो दिन बेस्ट फाइनान्स, किसान लघुवित्त, सबैको लघुवित्त, समिट लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, सनराइज बैंक, लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago