काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

आज बजारमा २३.२२ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २४६१.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ४.४७ अंकले ओरालो लागेर ४४५.२१ को विन्दुमा सीमित बनेको छ। 

यो दिन कारोबार रकमसमेत घटेर पौने ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे अहिले अफ सिजन रहेको र राजनीतिक माहौल पनि अन्यौलको अवस्थामा रहेका कारण लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन्। बजारमा करेक्सन आउनुका ३ वटा मुख्य कारण रहेको घिमिरे बताउँछन्। उनका अनुसार पहिलो कारण बजार २००० को विन्दु माथिबाट बिनाकरेक्सन बढेको थियो, दोस्रो कारण फागुन र चैत महिना सेयर बजारका लागि अफ सिजन मानिन्छ र तेस्रो कारण राजनीतिक अन्यौलताले ठूला तथा साना सबै लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा छन्। ‘यिनै कारणले बजारमा सेयर किनबेच ह्वात्तै घटेको छ’, उनले भने।

बजारमा आइरहेको ससाना करेक्सनमा खरिदको प्रशस्त अवसर रहेको घिमिरेको तर्क छ। ‘यो बेला पैसा हुनेले राम्रा कम्पनीहरुको सेयर थोरैथोरै उठाउँदा भविष्यमा फाइदै हुन सक्छ’, उनले भने।

सक्रिय लगानीकर्ता मेघनाथ निरौलाले पनि बजारमा कारोबार घट्नु राजनीतिक र बजारको सिजनलाई नै कारक मान्छन्। ‘अहिले बजारमा पैसाको अभाव भएको होइन, ठूला लगानीकर्ताहरुले पनि खासै सेयर बेचेर निस्केको अवस्था पनि होइन’, उनले भने, ‘राजनीतिक अन्यौलताकै कारण बजारबाट बाहिरिहाल्नुपर्ने अवस्था पनि छैन, आत्तिनुपर्ने अवस्थै होइन यो।’

निरौलाले बैंक, जलविद्युत् र होटेलहरुको भाउ बढ्न अझै बाँकी रहेकोले चैत मध्यपछि बजार पुनः लयमा फर्किन अनुमान गर्छन्। ‘यो बेलासम्म राजनीतिक अन्यौलता पनि अन्त्य हुन्छ र बजारले पनि आफ्नो लय समात्छ।’  

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी ६८.११ अंकले उकालो लागेको छ। जलविद्युत् समूह ३६.३९ अंकले बढेको आज म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सर्वाधिक २०१.५६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ११४.७ अंकले घटेको यो दिन बैंकिङ समूहमा २१.७७ अंक, व्यापार समूहमा ४९.८२ अंक, विकास बैंक समूहमा २२ अंक, वित्त समूहमा ४.४३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८८.७४ अंक, अन्य समूहमा २०.४१ अंक, लघुवित्त समूहमा ४७.४६ अंक र लगानी समूहमा १.३४ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१० कम्पनीका १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक ६५ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २९ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको २९ करोड ३२ लाख रुपैयाँ, निफ्राको २५ करोड ४९ लाख रुपैयाँ, नेपाल टेलिकमको १७ करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १२ करोड ४५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १० करोड ८९ लाख रुपैयाँ, नबिल बैंकको १० करोड ३९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ५१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ९ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। हिमालयन ऊर्जा विकास, चन्द्रगिरी हिल्स, नेपाल हाइड्रो, राइराङ हाइड्रोपावर र युनाइटेड फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लाग्दा सेयरधनीहरु मालमाल भएका हुन्। 

यो दिन सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो माइक्रोफाइनान्सको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।