काठमाण्डौ । नेप्से परिसूचक बिहीबार पनि ५.९८ अंकले करेक्सन भएको छ । झिनो अंकले करेक्सन भएको बजारमा १ अर्ब ४१ करोड बढीको सेयर किनबेच भयो । झिनो अंकको गिरावट आएको बजारलाई कारोबारले दरिलो साथ दिएकोले आगामी साता बजारमा उछाल आउनसक्ने विश्लेषक बताउँछन् । बजारमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । त्यो भन्दा कम अंकको गिरावट र कारोबार रकम चाहि १ अर्ब ४१ करोडको उचाईमा कायमै रहनुुले लगानीकर्ता धेरै तर्सिनुुपर्ने वा दिविधमा बस्नुुपर्ने आवश्यकता नरहेको दाबी विश्लेषकहरुको छ । 

बिहीबार बिमा कम्पनीमा १५.९२ अंकको झिनो वृद्धि देखिए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । होटल समूह ५१.७२ अंकले घटेको छ भने जलविद्युत समूह २०.६४, बित्त समूह १.४५, वाणिज्य बैंक समूह ५.६६ र विकास बैंक समूह १५.३८ अंकले घटेका छन् । उत्पादनमूलक र अन्य समूह स्थिर रहे । 

''क'' वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.५ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.४३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १ सय ४३ कम्पनीका २३ लाख ३७ हजार ४ सय १३ कित्ता सेयर १ अर्ब ४१ करोड २४ लाख ६२ हजार २ सय ९७ रुपैयाँमा किनबेच भयो । बिहीबार सबैभन्दा बढी एनसीसी बैंकले १२ करोड ९३ लाख बढीको कारोबार गर्यो । सूूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ११ लाख बढीको कारोबार भएको बजारमा नेपाल बैंक लिमीटेडले ७ करोड ८० लाख, सनराइज बैंकले ६ करोड २० लाख, गुराँस लाइफ इन्स्योरेन्सले ६ करोड ८ लाखको कारोबार गरेको छ ।  राष्टिय बिमा कम्पनी लिमीटेडको ४ करोड ३९ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड बढी, नेपाल इन्स्योरेन्स कर्पोरेसन लिमीटेडले ३ करोड ८५ लाख बढीको कारोबार गरे । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनी, ४ स्थान वाणिज्य बैंक र एक स्थान विकास बैंकको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
करेक्सनको मोडमा रहेको बजारमा बिहीबार ७ कम्पनीका सेयरधनी मालामाल भए । ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो भने तीन कम्पनीको सेयरमा ९ प्रतिशत भन्दा बढीको उछाल देखियो । 

नेपाल इन्स्योेरेन्स कर्पोरेसन लिमीटेड, सूूर्य लाइफ इन्स्योेरेन्स, राष्टिय बिमा कम्पनी लिमीटेडको संस्थापक सेयरको मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । गोर्खाज फाइनान्स, सिन्धुु विकास बैंक र मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

आइपीओकै मूल्यमा एफपीओ जारी गर्ने प्रक्रियामा रहेको नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्यमा ठूलै पहिरो गयो । यो बैंकको मूल्य १० प्रतिशतले घट्यो । रिदी हाइडोपावर कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले घट्दा जेबिल्स फाइनान्सको मूल्यमा ७.५४ प्रतिशतले गिरावट आयो ।