– अर्जुन तिमिल्सिना
काठमाण्डौ। गत साताका अन्तिम कारोबार दिनदेखि सेयर बजार पुनः लयमा फर्किएको छ। यो साताको पहिलो कारोबार दिन पनि बजारमा हरियाली छायो। आज सामान्य करेक्सन व्यहोरेको बजारलाई कारोबार रकमले भने साथ दिएको देखिन्छ।
कोरोनाको दोस्रो लहरले गाँजेकै अवस्थामा सेयर बजारप्रति भने लगानीकर्ताको उत्साहक झनै बढेको छ। बिहानीले दिनको संकेत गर्छ भनेजस्तै यो साताको पहिलो दिन नै बढेको बजार आगामी दिनमा पनि सकारात्मक हुने आशा गर्न सकिन्छ। यसबीच बजारमा सानाठूला करेक्सन अवश्य आउनेछन्। यो बजारको नियम नै हो।
प्राविधिक रुपमा हरेक औजार केलाउँदा अझै केही समय बजारमा खरिदको अवसर देखिन्छ। यो विश्लेषण भनेको समग्र नेप्से इन्डेक्सको भएकोले सेक्टरवाइज तथा हरेक कम्पनीको प्राविधिक अवस्था हेरेरमात्र कारोबार गरिनु उत्तम हुन्छ।
फिबोनासी रिट्रेस्मेन्टका आधारमा
फिबोनासी रिट्रेस्मेन्ट एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातहरुका आधारमा संकेत गरेको हुन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजार निश्चित समयसम्म घटेर बढ्न सुरु गरेपछि प्रयोग गरिन्छ। बजारको प्रतिरोध ०.६१ मा २६६५ को विन्दु, ०.७८ मा २७०० को विन्दु र १०० प्रतिशतमा २७६० को विन्दु हुन आउँछ। यदि त्यहाँबाट पनि बजार बढ्छ भने १.६१ को प्रतिरोध बजारले २९६१ मा लिनेछ। तर बजारले ०.६१ को प्रतिरोध २६६५ मा भने बलियो सामना गरेको छ।
एमएसीडी लाइन
यो लाइनअन्तर्गत गत २० अप्रिलमा बियरिस क्रसओभर बनेको र हालसम्म पनि बियरिस सिग्नल भ्यालिड रहेको देखिन्छ। तर, हिस्टोग्रामहरु (चित्रमा कालो एरोले देखाएका धर्काहरु) नेगेटिभ भए पनि विस्तारै छोटा–छोटा हुँदै गएकोले बुलिस क्रसओभर छिट्टै हुने सम्भवना रहेको छ। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काटे बियरिस क्रसओभर हुन्छ। एमएसीडी लाइन सिग्नल लाइनको नजिक–नजिक भएकोले आगामी दिनमा बजारमा बुलिस क्रसओभर हुन सक्ने अनुमान लगाउन सकिन्छ। यसलाई हिजोआजको कारोबारले पनि थप पुष्टि गरेको छ। कारोबारका आधारमा पनि बजार अब बुलिस दिशातिर जान लागेको बुझिन्छ।

बोलिंगर ब्यान्ड
बोलिङगर ब्यान्डका आधारमा अहिलेको बजारलाई विश्लेषण गर्नुपर्दा आजको कारोबारले बनाएको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर फर्किएको तथा मध्य रेखाभन्दा माथि नै भएकोले आगामी दिनमा बजार बढ्न सक्ने अनुमान लगाउन सकिन्छ। यो ब्यान्डअन्तर्गत अपर ब्यान्ड तथा लोअर ब्यान्डलाई मूल्य रेखाले छोइसकेपछि त्यहाँ बन्ने क्यान्डलका आधारमा पनि बजारको भविष्य थप अनुमान लगाउन सकिन्छ। हाल ‘भी’ सेपको आकरमा मध्य रेखा माथि नै रहेकोले बजारमा केही समय खरिदको दबदबा रहने अनुमान गर्न सकिन्छ।

आरएसआईका आधारमा
यदि यो विन्दु ७० भन्दा माथि हुन्छ भने ओभर बट जोन, ५० को विन्दुलाई न्युट्रल जोन तथा ३० भन्दा तलाको विन्दुलाई ओभर सोल्ड जोन भनेर बुझिन्छ। बजारको केही समयभन्दा पहिले ८३.५६ को उच्चतम विन्दु बनाएको थियो भने न्यून विन्दु २९.७८ बाट बजार माथि फर्केको थियो। आजको कारोबारले यो विन्दु ५४.९८ मा अर्थात न्योट्रल जोनमा पुगेको छ। यसले बजार अझै केही दिन बढ्ने संकेत गर्छ।

मैनबत्ती विश्लेषण
अघिल्लो साताको अन्तिम कारोबारमा बुलिस इङ्गल्फिङ क्यान्डल बनेको छ। मैनबत्ती चार्ट निर्माण गर्दा एउटा कुनै रङको मैनबत्तीलाई ढाक्ने गरी अर्को मैनबत्ती बनेमा त्यस्तो अवस्थालाई इङ्गल्फिङ क्यान्डल भनिन्छ। हरियोले कालोलाई ढाके बुलिस र कालोले हरियोलाई ढाके बियरिस हुन्छ। यो आधारमा पनि बजारमा केही समय खरिद चाप हुने संकेत देखिन्छ।

नोट : यो प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस होइन। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र प्रतिफलको सम्भावनालाई ध्यान दिन जरुरी छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19