काठमाण्डौ । भनिन्छ- सेयर बजारमा पैसै–पैसा छ। तर सबैले सेयर बजारबाट पैसा किन कमाउन सक्दैनन् ? विशेषगरी ९० प्रतिशतभन्दा बढी साना लगानीकर्ताले सेयर बजारमा कमाउनेभन्दा पनि गुमाउने गरेका छन्। 

अहिले नेपालको सेयर बजार पनि बुलिस ट्रेन्डमा रहेको छ। निषेधाज्ञाका कारण लगानीका अधिकांश क्षेत्र ठप्प रहँदा सेयर बजारमा लगानीकर्ताको ओइरो लागेको छ। अहिले बजारमा साना र ठूला लगानीकर्ताहरु सक्रिय रुपमा कारोबार गरिहेका छन्। तर यही बेला बजारबाट ठूला लगानीकर्ताहरु मनग्य कमाइरहेका छन् भने अधिकांश नयाँ र साना लगानीकर्ताहरु सेयर बजारसम्बन्धी ज्ञानको अभावकै कारण सोचेजस्तो कमाउन सकिरहेका छैनन्। अझै कतिपयले घाटा व्यहोर्न बाध्य छन्। 

आखिर बढ्दो बजारमा पनि कमाइ भइरहेको छैन त ? यी हुन सक्छन् मुख्य कारणहरु– 

१. बिना जानकारी लगानी 

अधिकांश साना लगानीकर्ता सेयर बजारबारे नराम्ररी नबुझीकन लगानी गर्छन्। जसका कारण उनीहरु आधारभूत हिसाबले कमजोर कम्पनीको सेयरमा लगानी गर्न पुग्छन् अनि फस्छन्। अनि भारी नोक्सानी व्यहोर्न बाध्य हुन्छन्। विशेषगरी यस्ता लगानीकर्ता अरुले भनेकै भरमा सेयर बजारमा प्रवेश गरेका हुन्छन्। 

२. एक्सपर्ट चयनमा गल्ती

प्रविधिमैत्री अहिले सेयर बजारमा साना लगानीकर्ताहरु आँखा चिम्लेर तथाकथित बजार विज्ञको रायमा विश्वास गर्छन्। कोही समाजिक सञ्जालमा आएका बजारसम्बन्धी खबरकै भरमा लखपति बन्ने सपना देख्न थाल्छन्। तर वास्ताविकतामा त्यस्तो हुँदैन। त्यसैले सेयर बजारमा लगानी गर्नुअघि बजार विज्ञको राय त लिनुपर्छ तर त्यस्ता विज्ञ छनोट सही हुनुपर्छ। 

३. बजार घट्दा डराउनु

जब बजार बढिरहेको हुन्छ तब साना लगानीकर्ताहरु झनै लगानी बढाइरहेका छन्। तर जब बजार घट्न थाल्छ तब उनीहरुमा त्रास र संशय देखिन्छ। अनि आफूसँग भएका सेयर सस्तैमा बेच्न थाल्छन्। यही कारणले उनीहरुले घाटा व्यहोर्नुपर्ने हुन्छ। जब कि ठूला लगानीकर्ताहरु सेयर खरिद गर्न बजार घट्ने दिनको प्रतीक्षामा हुन्छन्।

४. सस्ता सेयरको चयन

प्रायः साना लगानीकर्ताहरु त्यस्ता सेयरलाई आफ्नो पोर्टफोलियोमा राख्छन्, जुन सस्ता हुन्छन्। उनीहरुलाई लाग्छ कि सस्ता सेयरमा लगानी पर्छ तर नाफा बढी हुन्छ। तर सोच गलत हो। सस्ता सेयर लगानी गर्ने चक्करमा उनीहरु कमजोर वित्तीय अवस्था रहेका कम्पनी रोज्न पुग्छन् अनि फस्छन् र आफूसँग भएको थोरै रकम पनि डुबाउन पुग्छन्। सेयरमा पैसा लगाउँदै जहिले पनि कम्पनीको ग्रोथलाई ध्यानमा राख्नुपर्छ।

५. धेरै नाफाको प्रतीक्षा

अधिकत्तर साना लगानीकर्ता आफू किनेको सेयरबाट धेरै नाफाको प्रतीक्षामा रहेका हुन्छन्। जसका कारण उनीहरु कति नाफा आएपछि सेयर बेच्ने भन्ने कुरा थाहै हुँदैन र पछि आफूले हालेको पैसाको साँवासम्म फिर्ता गर्न सक्दैनन्। तर ठूला लगानीकर्ताहरु धेरै नाफाको चक्करमा पर्दैनन्। उनीहरुले कुनै पनि सेयरबाट १०–१५ प्रतिशतसम्म रिटर्न आएपछि बेचिहाल्छन्। तर साना लगानीकर्ताहरु धेरै नाफा गर्ने सपनामा यसरी डुब्छन् कि अन्ततः नोक्सानीको गर्न बाध्य हुन्छन्।