– अनन्त्य सुन्दर

काठमाण्डौ । पछिल्लो केही समयदेखि नेपाली सेयर बजार निरन्तर घट्दो क्रममा थियो। हिजो तेहेरो अंकले घटेको बजारमा आज सामान्य वृद्धि भएको छ। घट्दो बजारले प्यानिक भएका लगानीकर्ता आज बजारले सकारात्मक सिग्नल देखाएको भन्दै उत्साहित बनेका छन्। 

बजारका सक्रिय लगानीकर्ता अभिषेक पौडेलका अनुसार चाडपर्वका कारण लगानीकर्ताहरुले सेयर बेचेकाले बजार घटेको बताउँछन्। पौडेल भन्छन्, ‘अहिले बैंकहरुले ब्याजदर पनि बढाएका छन्। दसैँको मुखमा ब्याजदर बढेकाले बजारमा केही नयाँ लगानीकर्ता घाटामा भए पनि सेयर बेचे। त्यसको असर बजारमा केही दिन देखियो। अब बजार बढ्न सुरु भएको छ।’

‘अर्थमन्त्रीको लापरबाहीले बजार घटिरहेको छ। अर्थमन्त्रीले मिडियाका साथै अन्य कार्यक्रममा बजारबारे आफूअनुकूल अभिव्यक्ति दिँदा लगानीकर्ता विगत केही दिन प्यानिक थिए’, बजारका अर्का लगानीकर्ता सिर्जन पोख्रेल भन्छन्, ‘बजारबाट सेयर बेचेर निस्केका ठूला खेलाडीहरु आजबाट पुनः बजार प्रवेश गरेको देखिन्छ। आजको कारोबार रकम हेर्दा पनि बजार आफ्नो बुलिस लयमा फर्केको देखिन्छ।’

बजारका सक्रिय लगानीकर्ता सरोज ढकालका अनुसार बजार घट्नुका प्रमुख कारण नियामक निकायको पेलाइ, मौद्रिक नीतिमा सेयर धितो कर्जामा कडाइ साथै तरलताको अभावले गर्दा भएको बताउँछन्। ढकाल भन्छन्, ‘विगत केही दिनदेखि अनावश्यक हल्लाले गर्दा बजार घटेको थियो। तर आज बजार बढेसँगै बजारमा लगानी गर्ने नयाँ साथै पुराना लगानीकर्ता बजारप्रति सकारात्मक देखिन्छन्।’

‘ठूला लगानीकर्ता र नियामक निकायहरुको मिलेमतोमा बजारलाई जति घटाउनु थियो, घटाइसके। धेरै लगानीकर्ताले प्यानिक भएर घाटामा पनि सेयर बेचे। तर अब बजारको बढ्ने क्रम फेरि सुरु भएको छ’, लगानीकर्ता आयन बन्जाराले भने, ‘बजारले नियामक निकायहरुको विज्ञप्ति, राष्ट्र बैंकको मौद्रिक नीति, अर्थमन्त्रीको अभिव्यक्ति सबै पचाइसक्यो। अब बढ्दो बजारलाई कसैले रोक्न सक्दैन।’

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार अहिले सेयर बेच्ने नभएर किन्ने बेला रहेको बताउँछन्। रौनियार भन्छन्, ‘बजार बढ्नका लागि नै घट्छ त्यसैले बजारमा हुने उतारचढावदेखि लगानीकर्ता आत्तिनुहुँदैन।’ 

‘नियामक निकायहरुको विज्ञप्ति, राष्ट्र बैंकको सेयर धितो कर्जामा कडाइ, बजारमा तरलता अभावलेलगायत अन्य कारणहरूले गर्दा बजारमा अहिलेसम्मको नै ठूलो करेक्सन आयो। तर अझै पनि बजार बुलिस नै छ’, रौनियार भन्छन्, ‘बजेट पास भएसँगै अब बजारमा तरलता अभाव हुँदैन। कम्पनीहरुले लाभांश पनि बाँड्ने बेला भयो।’