– अर्जुन तिमिल्सिना
काठमाण्डौ । तिहारपछिको पहिलो कारोबारमै सोमबार सेयर बजारमा दोहोरो अंकको सामान्य करेक्सन आएको छ। कारोबार रकम पनि अघिल्लो साताको अन्तिम दिनको कारोबारभन्दा केही घटेको छ।
अल्पकालीन औजारहरुले बजारमा केही करेक्सनको अवस्था देखिन्छ भने दीर्घकालीन रुपमा बजार अझै बुलिस नै रहेको विभिन्न औजारहरुले प्रस्ट संकेत गरेका छन्। अघिल्लो साताका अन्तिम कारोबार र आजको कारोबार तथा सेयर भोलुमलाई आधार मान्ने हो भने बजारमा सामान्य एउटा करेक्सनको सम्भावना देखिन्छ। जसलाई बोलिंगर ब्यान्ड र एमएसीडीको चालबाट पनि केही अनुमान लगाउन सकिन्छ। यी औजारको विस्तृत रुपमा तल व्याख्या गरिएको छ।
मैनबत्ती विश्लेषणका आधारमा
सेयर बजारमा अघिल्लो साताको अन्तिम कारोबारमा इन्भर्टेड ह्याम्मर बनेको र आज पनि रातो क्यान्डल बनेकोले सामान्य करेक्सनको कन्फरमेसन बनेको बुझ्न सकिन्छ। मैनबत्ती विश्लेषणका आधारमा बजारमा केही दिन अल्पकालीन करेक्सन आउन सक्छ। बोलिंगर ब्यान्डको अप्पर ब्यान्डलाई विस्तारै मूल्यरेखाले छोड्दै–छोड्दै गएकोले पनि यो प्रस्ट हुन्छ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। सेयर बजारको अहिलेसम्मको उच्च विन्दु ३२०० लाई इन्टरमिडियट डिग्रीको वेभ (३) र त्यहाँबाट घटेको ३८.२ प्रतिशतलाई वेभ (४) मान्ने हो भने अब सोही डिग्रीको वेभ (५) करिब अबको कम्तीमा १ वर्षको समय लिएर बनाउँछ भन्ने हाम्रो बुझाइ रहेको छ। यो वेभभित्र पनि साना–साना माइनर र मिनेट वेभ हुने भएकोले बजारमा धेरैपटक उतार–चढाव आउनेछ। हालको २५०० को विन्दुलाई आधार मानेर भन्नुपर्दा २८७५ सम्मको बढाइ माइनर डिग्रीको वेभ एक हुनुपर्छ। यदि यही नै हो भने अब यहाँबाट करेक्सन भएको बजार कति तल आउला त ? इलिअट वेभलाई नै आधार मान्ने हो भने यो अब अधिकतममा ०.६१ प्रतिशत टेवा अर्थात २६३४ को विन्दुसम्म आउन सक्छ। यसको अर्थ बजार अब घटेर यही नै आउँछ भन्न खोजिएको भने होइन। यहाँ एउटा विभिन्न औजारका आधारमा अधिक सम्भावनाको मात्रै चर्चा गरिएको हो। (मुख्य तस्बिर माथि)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २७८२ सम्म, ०.३८ प्रतिशतको टेवा २७०७ सम्म, ०.५ प्रतिशतको टेवा २६७७ सम्म र ०.६१ को टेवा २६३४ सम्म बजार आउन सक्ने देखिन्छ।
बोलिंगर ब्यान्ड, एमएसीडी लाइन, सेयर भोलुम र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा भन्नुपर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर लगातार २ कारोबारमा रातो क्यान्डल बनेको छ।यो आधरामा बजारमा सामान्य करेक्सनको सम्भावना देखिन्छ। भोलुमका आधारमा पनि विस्तारै घट्दै गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। एमएसीडीअन्तर्गत सिग्नल बुलिस नै रहेको देखिन्छ तर सिग्नल लाइन र एमसीडी लाइन नजिक–नजिक हुँदै गएका छन् भने हिस्टोग्रामहरु सकारात्मक भए पनि विस्तारै छोटा–छोटा भएका छन्। (हेर्नुहोस् कालो एरो)
यी आधारमा बजार अल्पकालमा केही करेक्सन भए पनि दीर्घकालीन रुपमा भने बुलिस नै रहेको छ। आरएसआईअन्तर्गत हालको विन्दु ६० को तहमा रहेको छ। यसले लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएको बुझिन्छ। यदि यो विन्दुभन्दा माथि जान्छ भने बजारमा नयाँ उछाल आउन सक्छ तर तल गएमा थप करेक्सनको सम्भावना रहेको हुन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago