काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार भारी अंकको पहिरो गएको छ।

बजारमा आज ८८.७ अंकको पहिरो गएको हो। योसँगै नेप्से परिसूचक २३६१.२७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.१५ अंकले घटेर ४५०.०८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरे लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार घटिरहेको बताउँछन्। ‘जिम्मेवार निकायबाट सकारात्मक सम्बोधन आउनै पर्ने देखिएको’, उनले भने। 

तरलता संकटका कारण पनि बजार प्रभावित भएको घिमिरेको भनाइ छ। ‘बजार पैसाको अभाव देखिएको छ, जसले गर्दा बजार निकै प्रभावित भरहेको छ’, उनले भने। 

प्राविधिकहरु २३७० को विन्दुमा बजारले दह्रो टेवा लिने भनेकोमा त्यो पनि भत्किएको घिमिरे बताउँछन्। ‘यसले पनि लगानीकर्ताको मनोबल थप कमजोर बनेको देखिन्छ’, उनले भने।

नियामकबाट पछिल्लो समय ल्याइएका नीतिगत निर्णयमा परिमार्जन आवश्यक रहेको पनि घिमिरे बताउँछन्। 

बजार घट्दा अवसर हुने भएकोले स्वपुँजी लगानी गर्नेहरु डराइहाल्नुपर्ने अवस्था नरहेको घिमिरेको भनाइ छ। ‘त्यस्ता लगानीकर्ताहरुले ढुक्क भएर सेयर होल्ड गर्दा हुन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश रजौरेको सेयर बजार पछिल्लो अवस्थालाई लिएर गम्भीर हुनुपर्ने बताउँछन्। सीडी रेसिरो र ४–१२ क्याप हटाउनुपर्ने उनको भनाइ छ। 

अहिले लगानीकर्ता नचाहेर पनि दबाब झेल्नुपरिरहेको रजौरेको भनाइ छ। यद्यपि घट्दो बजारमा सेयर उठाएकाहरु डराउनुपर्ने अवस्था नरहेको उनी बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ७.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ६.४१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.९६ प्रतिशत, जलविद्युत समूहमा ४.५२ प्रतिशत, वित्त समूहमा ४.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.२९ प्रतिशत, अन्य समूहमा ३.२९ प्रतिशत, लघुवित्त समूहमा ३.७४ प्रतिशत, जीवन बीमा समूहमा ३.८८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३६ प्रतिशत र लगानी समूहमा ४.१४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ७२ लाख २३ हजार २४० कित्ता सेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१.५७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन मञ्जुश्री फाइनान्सको सर्वाधिक १९ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल हाइड्रोको १३ करोड २८ करोड रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ११ करोड २३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ८ करोड ४ लाख रुपैयाँ, अपी पावरको ६ करोड ९२ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ६५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ६ करोड ४१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ११ लाख रुपैयाँ र एचआईडीसीएलको ५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयभाउ २ प्रतिशतले उकालो लागेको छ। 

यो दिन नयाँ सारथी लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। यसैगरी नेपाल हाइड्रोको सेयरभाउमा पनि १० हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।