– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपालमा संघसंगठन नभएका पेसा र क्षेत्र कमै छन्। कर्मचारी, चिकित्सक, शिक्षक, विद्यार्थीका साथै सेयर लगानीकर्तालगायत दर्जनौँ संघसंगठन छन्। यी संघसंगठनहरुको स्थापित हुँदा आ–आफ्नो पृष्ठभूमि र उद्देश्य छन्।
सेयर लगानीकर्ता संघ, नेपाल इन्भेस्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, नेपाल पुँजी बजार संघ, सेयर लगानीकर्ता दबाब समूह, स्वतन्त्र पुँजी बजार संघ, स्वतन्त्र पुँजी बजार सुधार संघ गरी अहिले सातवटा लगानीकर्ताका संघसंगठन स्थापित छन्। सेयर बजारको अधिकांश लगानीकर्ता संघसंगठनको स्थापना हुनुको कारण एउटै छ, ‘घट्दो बजार।’
विगतमा हेर्ने हो भने जब–जब बढ्दो बजार घट्न सुरु गर्छ तब–तब पुँजी बजारमा नयाँ नेताहरुको उदय हुन्छ। आन्दोलन, नियामक निकायको पदाधिकारीका राजीनामा माग, सरकारको विरोध, अनशनजस्ता क्रियाकलाप सडक र सञ्जाल तातिन्छ। तर, बजार बढ्न सुरु गरेसँगै सबै लगानीकर्ता संघसंगठनका अगुवा चुप हुन्छन्। उनीहरू कानमा तेल हालेर बस्छन्।
यसको ज्वलन्त उदाहरण झन्डै १ महिनाअघि काठमाण्डौको बुद्धनगरमा गठन भएको सेयर बजारको महासंघ÷कार्यदल हो।
नेप्से परिसूचक ३२०० बाट घट्दो क्रममा थियो। सेयर बजारको नियामक निकाय सेबोन र नेप्से नेतृत्वविहीन भएको महिनौँ भएको थियो। साना लगानीकर्ता घट्दो बजारले त्रसित थिए। अनि ठूला लगानीकर्ता ४–१२ को क्यापले अत्तालिएका थिए।
त्यसैले लगानीकर्ताका अगुवाहरु ठूला र साना सबै लगानीकर्ताको मागलाई सम्बोधन गर्नका साथै समग्र पुँजी बजार सुधारका लागि मंसिर २० मा बुद्धनगर स्थित क्वालिटी बैंक्वेटमा भेला भए। सेयर बजारको बादशाह निर्मल प्रदान, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, स्वतन्त्र पुँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्कीका साथै अन्य उपस्थित लगानीकर्ताको आमसहमतिमा कार्यदल गठन भयो। कार्यदलको संयोजकत्वको जिम्मा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष एवं एफएनसीसीआईका केन्द्रीय सदस्य अम्बिकाप्रसाद पौडेललाई दिइयो।
मंसिर २८ मा उक्त कार्यदलले अर्थमन्त्रीलाई भेटेर बजार सुधारका लागि गर्नुपर्ने कामका साथै मार्जिन ट्रेडिङ र सेयर धितो कर्जाबारे आफूहरुको माग राखेको थियो। गठन भएको केही दिनसम्म कार्यदलले बजार सुधारका लागि सामाजिक सञ्जालका साथै अन्य फोरमहरु तताएको थियो। लगानीकर्ताहरु पनि कार्यदलबाट आशावादी थिए। तर विडम्बना बजार बढ्न सुरु गरेसँगै अहिले कार्यदल र कार्यदलको नेतृत्व गर्नेहरु गुपचुप भएका छन्।
‘कार्यदलले के–के काम गर्दैछ?’ भन्ने बिजशालाकर्मीको जिज्ञासामा कार्यदलको नेतृत्व गरिरहेका संयोजक पौडेलले भने, ‘कार्यदल हाम्रा माग राख्न बनेको थियो। हामीले आफ्ना माग राख्यौँ।’
तर, राखिएका मागहरु त पूरा भएनन् नि ? भनेर प्रश्न गर्दा पौडेलले काम गरिरहेको र कार्यदलबारे कुरा गर्न नचाहेको प्रतिक्रिया दिए।
सेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइराला अर्थात काका कार्यदल बनाउन संलग्नहरु नै अहिले वित्तीय अवस्था कमजोर भएका कम्पनीहरु कर्नरिङ गर्न लागिपरेको आरोप लगाए। ‘अहिले उहाँहरूलाई आफ्नो पोर्टफोलियो समाल्न साथै सेयर किन्न र किनाउन फुर्सद छैन’, उनले भने, ‘बजार घट्न सुरु गरेपछि मात्र लगानीकर्ताहरुलाई त्रसित बनाएर फलानो राजीनामा दे, नो भोट भनेर रोइलो हुन्छ।’
सेयर बजारका सक्रिय लगानीकर्ता नवराज दाहालका अरूलाई मात्र गाली गरेर सुध्री भन्ने भन्दा पनि आफूबाट सुधार हुनुपर्ने बताउँछन्। दाहाल भन्छन्, ‘बजारको हित र सुधारका लागिभन्दा पनि इन्साइडर न्युज र चर्चामा आएर आफूलाई अरुसँग चिनाउनमात्र आन्दोलन हुने गरेको छ। जब कोही बिना स्वार्थ समग्र बजार सुधार र विस्तारका लागि आउँछ, तब मेरो साथ हुनेछ।’
सेयर बजारका सक्रिय लगानीकर्ता तथा कार्यदल बनाउन पहल गरेका तिलक कोइरालाले बजार सुधार र विस्तारका लागि बनेको कार्यदल असफल भएको स्वीकार गरे। ‘बजार विस्तारका लागि एकीकृत शक्ति निर्माण गर्न त्यो अन्तिम पहल थियो। जसमा हामी असफल भयौँ’, उनले भने, ‘भ्यागुताको धार्नी कहिले पनि पुग्दैन भने जस्तै मिडियामा सेलिब्रिटी बन्नमात्र चाहने लगानीकर्ताको नेताहरु समेटेर कार्यदल बनाउन सम्भव रहेनछ।’
गठन भएको कार्यदलको औचित्य पनि नभएको पनि कोइरालाले बताए। ‘बजार बढ्दा ठूलो संख्यामा नयाँ तथा साना लगानीकर्ताहरु आउने भएकाले लगानीको जोखिम उच्च हुन्छ’, कोइराला भन्छन्, ‘त्यसैले बजार सुधारको काम घट्दाभन्दा पनि बजार बढ्दा गर्नुपर्छ। तर, यहाँ लगानीकर्ता, लगानीकर्ताका नेता, नियामक निकायहरुबाट ठीक उल्टो काम हुन्छ।’
बजार घट्दा लगानीकर्ताको लगानीका साथै सरकारलाई राजस्वमा पनि घाटा हुन्छ। त्यति बेलामात्रै बजार सुधार र विस्तारको कुरा उठ्छन्। बजार घट्दा लगानीकर्ताका नेताहरु पनि अघोषित रुपमा कसैले सकारात्मक बोलेर बजार बढाउनुपर्यो भनेर लागिपर्ने गरेको कोइरालाले बताए। ‘बजार सुधारका लागि प्रयास जारी रहनेछ। तर, केही सीमित व्यक्तिले भन्दा पनि सरकार सकारात्मक भएमात्र बजार सुधार र विस्तार सम्भव छ’, उनले भने।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago