– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजार सधैँ बढेको बढ्यै र घटेको घट्यै गर्दैन। विगत केही सातादेखि निरन्तर बढेको बजारमा यो साता भने ब्रेक लागेको छ। 

साताको पहिलो दिन आइतबार १० अंकले मात्रै घटेको बजार दोस्रो दिन सोमबार झन्डै १०० अंकले ओरालो लागेको छ। 

आधारभूत रुपमा बजार घट्नुपर्ने विभिन्न कारण भए पनि प्राविधिक रुपमा भन्नुपर्दा बजार एउटा चक्रमा चलेको हुन्छ। त्यही चक्रमा नै बजार घुमेको देखिन्छ। 

बजार घटबढ हुनु यसको एउटा नियमजस्तै देखिन्छ। बजार जसरी बढ्छ, त्यसरी नै घट्छ र जसरी घट्छ, फेरि त्यसरी नै बढ्छ। 

आज हामीले बजारको पछिल्लो अवस्थालाई केही अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत नियाल्ने कोसिस गरेका छौँ। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषण भनेको सबैभन्दा छिटो अनुमान लगाउन सक्ने औजार हो। यसले दिनभरको कारोबारले कस्तो आकृति बनायो र अबको सम्भावना कस्तो छ भन्ने बुझाउँछ। आज मैनबत्ती विश्लेषणअन्तर्गत रातो लामो मारुबुजु क्यान्डल बनेको छ (हेर्नुहोस् कालो एरो)। यसले घट्दो बजारलाई संकेत गर्छ। यसविपरीत यदि हरियो मारुबुजु क्यान्डल बन्छ भने बजार बढ्छ भन्ने संकेत गर्छ। 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट वेभमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ र सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याएका छौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा हालको एउटा छोटो समयको २२६० देखि माथिको बजारको चक्रलाई नियाल्दा बजार लगभग ३००० सम्म बढोत्तरी आएको देखिन्छ। जसअन्तर्गत माइनर डिग्रीको वेभ १ मा २२६० देखि २६०० सम्म र वेभ २ मा लगभग २४९६ सम्म आएको देखिन्छ। त्यसैगरी वेभ ३ मा लगभग ३००० सम्म र यहाँबाट हाल चलेको करेक्सन लगभग २७५२ सम्म आउन सक्छ। यहाँबाट वेभ ५ मा लगभग ३२२२ सम्म बजार जान सक्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासीका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८०८ सम्म, ०.३८ प्रतिशतको टेवामा २७०५ सम्म, ०.५ प्रतिशतको टेवामा २६१६ सम्म तथा ०.६१ प्रतिशतको टेवामा २५३६ सम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने आज एमएसीडी लाइन र सिग्नल लाइनले छुन खोजेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल भर्खरै बन्दै गरेको देखिएको छ र हिस्टोग्राम पोजिटिभ छन् तर छोटाछोटा भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयर बजारमा बिक्रीकर्ता हावी हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत बजारको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएर तल झर्न सुरु गरेको छ। यसले अब मध्य ब्यान्डसम्ममा सपोर्ट लिन आउन सक्ने देखिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। बजारको हालको आरएसआई ५६ रहेको छ। यसको अर्थ बजार न्युट्रल जोन नजिक आएको बुझिन्छ। अघिल्लोपटक यो न्यून  विन्दु १९ को तहमा पुगेपछि बजार उकालो लागेको थियो भने उच्चतम विन्दु ७५ को तहमा पुगेपछि बजार ओरालो लागेको थियो। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २९८४
  • प्रतिरोध २– ३०३७
  • प्रतिरोध ३– ३०९२

पिभट प्वइन्ट : २९२८

घटेमा सपोर्ट 

  • सपोर्ट १– २८७५
  • सपोर्ट २– २८२०
  • सपोर्ट ३– २७६०

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।