– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजार विगत केही सातादेखि सुस्ताएको छ। बजार न त बढ्न सकेको छ न त घट्न नै। 

बजार सुस्ताउनुको प्रमुख कारण मौद्रिक नीति, ब्याजदर, एमसीसी, राजनीतिक अवस्था, तरलता संकटलगायत विविध कारण रहेको वित्तीय जानकारहरु बताउँदै आएका छन्।

झन्डै २२ अर्ब सम्मको कारोबार रकम भएको बजारमा अहिले कारोबार रकम खुम्चिएर ३–४ अर्बमा झरेको छ। दुई साताको कारोबार रकम हेर्दा औसतमा ३.५६ अर्ब कारोबार भएको हो।

नेपालमा अहिले सञ्चालनमा रहेको ब्रोकर संख्या ५० छ। विगतका दिनमा सञ्चालनमा भएका ब्रोकरले दिने सेवा–सुविधाप्रति असन्तुष्ट भएका लगानीकर्ताहरु ब्रोकर संख्या थप्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने जस्ता मागहरु लिएर आन्दोलित पनि हुँदै आएका छन्।

सञ्चालनमा रहेको ब्रोकर संख्या ५० भए पनि कुल कारोबार रकमको झन्डै आधा हिस्सा टप ५ वटा ब्रोकरबाट मात्र हुने गरेको छ। आज भएको ४.२७ अर्ब कारोबार रकममा पनि टप ५ वटा ब्रोकरहरुको झन्डै ४७ प्रतिशत हिस्सा रहेको छ।

बजार ३२०० हुँदा कारोबार रकम उच्च हुँदा लगानीकर्ताको फोन नै उठाउन नभ्याउने अधिकांश ब्रोकरको अचेल फोनको घन्टी नै बज्न छोडेको छ। टीएमएसबाट कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्नुका साथै कारोबार रकम ठप्प भएकाले पनि विगतको तुलनामा अचेल फोन कम आउने गरेको ब्रोकरहरु बताउँछन्।

‘बजारमा धेरै पुँजी भएका ठूला भनिने लगानीकर्ताले बजारमा नाम चलेका ठूलठूला ब्रोकरबाट कारोबार गर्छन्’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘नयाँ लगानीकर्ता पनि तिनै ब्रोकरबाट कारोबार गर्न बढी रुचाउँछन्। त्यसैले पनि अहिले हामीजस्तो थोरै लगानीकर्ताले कारोबार गर्ने साना ब्रोकरहरुकोमा कारोबार ठप्प छ।’

तरलता चापले गर्दा दैनिक कारोबार गर्ने लगानीकर्ताको संख्या घटेसँगै ब्रोकरहरुको आम्दानी पनि घटेको ती ब्रोकरले बताए। ती ब्रोकर भन्छन्, ‘कमिसनबाट मात्र व्यवसाय सञ्चालन गर्न गाह्रो छ। फोनको घन्टी दिनमा १०–१५ चोटिमात्र बज्छ। विगतको तुलनामा त बज्दै बज्दैन भन्दा पनि हुन्छ।’
सञ्चालनमा भएका ब्रोकरहरुलाई मर्कामा पर्न नदिनका लागि ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट, एड्भाइजरीजस्ता अन्य कार्य पनि सञ्चालन गर्न दिएर कामको दायरा बढाउनुपर्ने ती ब्रोकरले सुनाए।

‘नयाँ कम्पनीको आईपीओ आउँदा केही कारोबार हुन्थ्यो’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘विगत केही महिनादेखि नयाँ आईपीओ पनि नेप्सेमा सूचीकरण नभएको अवस्था छ। राजनीतिक माहौल पनि अस्थिर छ। त्यसैले पनि अहिले कारोबार ड्राई छ।’

सबै ब्रोकरले दिने सेवा, सुविधा र शुल्क समान छ। एउटा ब्रोकरबाट कारोबार गरिरहेको लगानीकर्ताले विशेष परिस्थितिमा मात्र ब्रोकर चेन्ज गर्ने गरेका छन्। ‘ब्रोकरेज सेवा राम्रो, सस्तो र थप प्रतिस्पर्धी बनाउन ब्रोकरहरुलाई स्वतन्त्र छोड्नुपर्छ। अर्थात् लगानीकर्तालाई ब्रोकरले दिने सेवा र सेवाबापत लिने शुल्क आफैँलाई निर्धारण गर्न दिनुपर्छ’, ती ब्रोकरले भने।

‘अधिकांश लगानीकर्ताको पैसा नेप्से परिसूचक ३२०० हुँदा फसेको छ। तरलताले गर्दा थप लगानी गर्न न लगानीकर्ता आफूसँग पैसा छ ! न त बैंक तथा वित्तीय संस्थाले कर्जा दिने अवस्था नै। यस्तो अवस्थामा कसरी सन्तोषजनक कारोबार हुन्छ ?’, प्रश्न गर्दै अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘नियामकदेखि लगानीकर्ताहरु सबै ब्रोकर मालामाल भएको देख्छन्। तर, २२ अर्ब कारोबार भएको बजारमा एकाएक कारोबार रकम ३–४ अर्बमा झर्दाको पीडा ब्रोकरेज व्यवसायमा संलग्न भएका ब्रोकरहरुलाई मात्र थाहा छ।’