-प्रकाश न्यौपाने

काठमाण्डौ । लामो समयदेखि करेक्सनमा रहेको बजारमा बुधबार भारि अंकको बढोत्तरी आएको छ। लामो समयअघिदेखि बजारलाई नकारात्मक असर पार्ने हल्ला र समाचारहरु आएका कारण बजार लगातार ओरालो लागेको थियो। यही बीचमा सरकार, राष्ट्र बैक र सरोकारवालाहरुबीच अर्थतन्त्र सुधारका बिषयमा घनिभूत छलफल भई त्यसको परिणाम पनि देखिन थालेपछि बजारमा सुधार आएको देखिन्छ । 

नेपाल इन्भेष्टर्स फोरमकी महसचिव दुर्गा तिवारी बैंकहरुले ब्याजदर घटाएर सिंगल डिजीटमा झार्ने निर्णयका कारण बजारमा उछाल आएको बताउँछिन् । योसँगै चैत मसान्तको प्रभाव सकिँदा समेत लगानीकर्ताको मनोबल थप बलियो बनेको उनको भनाई छ । 

उनले अगाडि भनिन्–‘१८०० को आसपास तीनपटक पुगेर फर्केको हुनाले अबको बजारको यात्रा उकालो नै रहेको देखिन्छ । अर्थतन्त्र सुधार हुनु, ब्याजदर घट्नु, बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जानुजस्ता विषय यसका आधार र कारण हुन् ।’

बजार जानकार बीरेन्द्र विष्टले पनि सरकार र राष्ट्रबैंकबीच ट्यूनिङ मिल्न थालेको र उनीहरुको सल्लाहमै बैंकहरुले ब्याजदर घटाएका कारण लगानीकर्ताको मनोबल उच्च भई बजार बढेको बताए । ‘अब बजार १९०० भन्दा माथि नै बस्ने सम्भावना देख्छु ।’ उनले भने–‘अब बजार माथि नै जाने हो । सानोतिनो करेक्सन हुँदै बजारले उकालो यात्रा नै तय गर्नेछ ।’

बजारका अग्रज लगानीकर्ता तथा जानकार केशव कोइराला करिब २० महिनादेखि बियरिस ट्रेण्डमा रहेको बजारमा लगभग बटम लागेको दाबी गर्छन् । ‘अब बजारलाई सकारात्मक बनाउने अरु धेरै समाचारहरु आउने देखिन्छ ।’ उनले भने-'मुद्दति निक्षेपको ब्याजदर घटिरहेका कारण अब बिस्तारै कर्जाको ब्याजदर पनि घट्न थाल्नेछ । नयाँ लोन त कम ब्याजदरमै पाइएला । यसले सेयर लोनप्रति लगानीकर्ताको आकर्षण बढ्न सक्छ ।' 

लगानीकर्ताले धमाधम सेयर लोन लिएर बजारमा लगानी गर्ने बातावरण बन्दै गएमा नेप्सेले अनपेक्षित उचाई चुम्नसक्ने उनको अनुमान छ । ‘तर एकदिनको उच्च बढोत्तरीकै आधारमा बुल यात्रा नै सुरु भयो भनियो भने हतारो हुन्छ ।’ उनले थपे–‘तर अब बजार बिस्तारै माथि नै जाने हो ।’

अर्का बजार जानकार अर्जुन थापाको भनाईमा अर्थतन्त्रमा देखिएको सुधार निरन्तर रहेमा आगामी दिनमा बजारले उकालोतर्फको लोभलाग्दो यात्रा सुरु गर्नेछ । उनी भन्छन्–‘प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर अर्थतन्त्र सुधार गर्न लागिपर्नु भएको छ । यो प्रयासले अर्थतन्त्रमा अझै सुधार देखिनेछ । यसले सेयर बजारलाई अझ माथि पुर्याउनेछ ।’

उनले पनि अब बजार नघट्ने, बरु सानातिना करेक्सनको सामनासहित बढ्दै जाने दाबी गरे ।