काठमाण्डौ । कुनै बेला नेपालको सेयर बजारमा एकैदिन २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। केही दिनयता भने बजारमा १ अर्ब रुपैयाँभन्दा कमको कारोबार भइरहेको छ। 

सेयर बजार पछिल्लो डेढ वर्षभन्दा बढी अवधिदेखि प्रभावित भइरहेको छ। ३२०० उच्च विन्दु बनाएको बजार अहिले १८७० को विन्दुमा छ। योबीचमा बजार १८०६ को न्यून विन्दुसम्म आएको थियो। 

विभिन्न नीति व्यवस्था र देशको आर्थिक अवस्थाका कारण सेयर बजारमात्रै नभएर अन्य व्यापार–व्यवसाय पनि प्रभावित भएका छन्। 

सेयर बजार प्रभावित हुँदा यो क्षेत्रबाट सरकारले पाउने राजस्व पनि ह्वात्तै घटेको छ। सरकारले सेयर बजार १५ अर्ब राजस्व लक्ष्य राखेको छ। तर, बजार घटेसँगै कारोबार सुस्ताउँदा सरकारले राजस्व संकलनको लक्ष्य पूरा नहुने लगभग निश्चित छ। 

सीडीएससीकै तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघ–चैत)मा पुँजीगत लाभकरबापत लगानीकर्ताहरुले ६९ करोड ८ लाख रुपैयाँ बुझाएका छन्। यो ३ महिनाको पुँजीगत लाभकर अघिल्लो वर्षको यही अवधिको तुलनामा १४० प्रतिशत बढीले कम हो। अघिल्लो वर्ष यही अवधिमा लगानीकर्ताले १ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए। 

यो ३ महिनाको अवधिमा लगानीकर्ताहरुले क्लोज आउटमा पर्दा तिर्नुपर्ने जरिवाना रकम पनि ९० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा क्लोज आउटमा पर्दा लगानीकर्ताले ८ करोड ३५ लाख रुपैयाँ जरिवाना तिरेकोमा समीक्षा अवधिमा भने ४ करोड ३९ लाख रुपैयाँमात्रै तिरेका छन्।