काठमाण्डौ । बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरुप्रति चौधरी ग्रुपले ध्यानाकर्षण भएको जनाएको छ। 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक (एमडी) निर्वाण चौधरीले आफ्नो फेसबुक स्ट्याटसमा कम्पनीको धारणा पोस्ट गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्। ‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेकोबारेमा स्पष्ट पार्न चाहन्छौँ’, चौधरीले लेखेका छन्, ‘यस मामिलामा हाम्रो संलग्नताका बारेमा विनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महाशयहरुप्रति हामी खेद व्यक्त गर्दछौँ। साथै, उहाँहरुले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ।’

यस सम्बन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायहरुलाई चौधरी ग्रुपले आग्रह गरेको छ। ‘यस मामिलामा यदि हाम्रो संलग्नता कहीँ कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ र यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरुलाई कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ’, चौधरीले लेखेका छन्।