काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सेयर बजारका धेरै विषयलाई सम्बोधन गरेको छ । 

संभवत इतिहासमै पहिलोपटक सेयर बजारले बजेटमा धेरै ठाउँ पाएको देखिएको छ । 

बजारका लगानीकर्ताहरुले तीव्र प्रतिक्षा गरिरहेको बजेटलाई ब्रोकर, लगानीकर्ता र विश्लेषकहरुले कसरी हेरेका छन् ? के सेयर बजारको विकासका लागि बजेट आधार बन्नसक्छ ? बजेटले बजारमा कस्तो प्रभाव पार्ला ? हामीले यही विषयमा सम्बद्ध पक्षलाई बिजशालाकर्मी भक्तराज रसाइलीले सोधेका थिए–‘बजेट कस्तो लाग्यो ?’ हेरौं उनीहरुको जवाफ जस्ताको तस्तै:

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एशोसिएसन 
सेयर बजारले माग गरेका सबै मागहरु सम्बोधन भएका छन् । सबै कुराहरु सकारात्मक रुपमा आए ।अब बजार निश्चित रुपमै सकारात्मक गतिमा कुद्नेछ ।

नयन बास्तोला(महासचिव)-सेयर लगानीकर्ता दबाब समूह 
बास्तवमा अहिलेको बजेटमा सायद पहिलो पटक नै होला सेयर बजारलाई यति धेरै सम्बोधन गरिएको छ । यसका लागि दवाब समूहको योगदान समेत स्मरणीय छ । यदि दवाब समूहले रिले र आमरण अनशन गरेको थिएन भने अर्थमन्त्री बजारप्रति यति धेरै सकारात्मक बन्न बाध्य बन्ने थिएनन होला । बजेटमार्फत घोषणा गरिएको कुराहरुको कार्यान्वयन पक्ष समेत महत्वपूर्ण हुन्छ । दवाब समूहको तर्फबाट अर्थमन्त्री ज्यूलाई विशेष धन्यवाद। 

संरक्षणा चौधरी(अध्यक्ष)नेपाल पूँजीबजार संघ
समग्रमा भन्नू पर्दा पूंजीबजारको निम्ति उठेका कुराहरु सबै राम्रो नै छ्न । बैंक तथा बित्तीय संस्थाहरुबीच बिग मर्जरको निकै राम्रो कुरा आएको छ । तर, बिग मर्जरमा जानेहरुलाई छुट वा अनुदानको व्यवस्था भएन । 

अनलाइन कारोबार प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाइने कुरा राम्रो हो । त्यो बाहेक बिद्युतीय प्रणालीलाई सुरक्षित बनाउने व्यवस्था गर्नु राम्रो पक्ष हो । पूंजीगत लाभकर ७.५ बाट ५ प्रतिशतमा झारिएको छ । लगानीकर्ताका लागि निकै ठूलो उपहार हो ।  यस्तै, दोस्रो बजारमा लगानी गर्ने इच्छुक एनआरएनलाई लगानीको वातावरण सिर्जना गरी पूंजीबजारलाई फराकिलो बनाइने घोषणाले बजारमा उत्साह भर्ने काम गर्नेछ । बजेटलाई लगानीकर्ताले स्वागत गर्नुपर्छ । 

दीलिप मुंनकर्मी
तुलनात्मक रूपमा धितोपत्रबजारका लागि सकारात्मक बजेट आएको छ । पूँजीगत लाभकर घटेको छ, लाभकर गणना विवाद समाधानको दिशामा जानेछ । तर, लाभकर अन्तिम नहुँदा अग्रिम कि अन्तिमको द्वन्द्व जारी रहने देखियो । प्यानमा दर्ता भएका लगानीकर्ताहरूको प्यान नेप्से र सिडिएसमा ईन्टिग्रेसन हुँदा भुक्तानी भएको लाभकर सम्बन्धितको प्यानमा जानेछ । धितोपत्रबजार सुधारको दिशामा सरकार केही सकारात्मक देखियो । अब व्यवहारिक हेर्नुपर्छ ।
१. तत्कालका लागि बजेट सकारात्मक तर व्यहारिक रूपमा हेर्न बाँकी ।
२. लाभकर गणना विधीले द्वन्द्व समाधान हुन सक्नेछ, तर यसलाई बोनस र हकप्रदसम्म सिमित हुन्छ कि व्यक्तिगत खरिदको औसत हो, त्यसले फरक पर्नेछ ।
३.लाभकर ७.५ बाट ५ प्रतिशतमा घटेको छ, तर लाभकर अन्तिम नहुँदा अन्यौलता र तजबिजी कायम । मध्यमस्तरका लगानीकर्ताहरू (प्यानमा दर्ता)को व्यवस्था गरिएको छ, अब बढी करको स्ल्यावमा उक्लिने र थप कर तिर्नुपर्ने देखियो । हरियो घाँस देखाएर बाख्रालाई खोरमा हुल्ने सम्भावना भनेको कम दरको कर तर प्यानमा कसिकसाउ हुनसक्छ, जसले अन्य व्यवसाय वा आय गर्ने व्यक्तिले थप कर तिर्नपर्ने अवस्था आउन सक्छ। 

४. कट्टा भएको लाभकर सम्बन्धित लगानीकर्ताको प्यानमा जाने ईटिडिएसको व्यवस्था हुने ।
५.सरकारी ऋणपत्रमा लगानी गर्न केही सहज हुनसक्ने ।
६.अल्पकालीन र दीर्घकालीन करको दर नहुनु तथा लाभकर अन्तिम नहुनु नकारात्मक र गलत छ ।

उत्तम अर्याल(अध्यक्ष)-सेयर लगानीकर्ता संघ
समग्रमा बजेट राम्रो छ । सैद्धान्तिक रुपमा बजेट बजारका लागि स्वागतयोग्य रहेकोले अर्थमन्त्रीलाई विशेष धन्यवाद । कार्यान्वयन पनि घोषणा जस्तै होस् । 

प्रियराज रेग्मी(पूर्व अध्यक्ष)-स्टक ब्रोकर एशोसिएसन
निकै राम्रो बजेट आयो । अर्थमन्त्री र सरकारलाई विशेष धन्यवाद । 

आनन्दकुमार भट्टराई, सेयरविज्ञ

समग्रमा सरकार प्रतिको लगानीकर्ताको अबिश्वासलाई यो बजेटले हटाई नयाँ रक्त संचार गर्न सफल भएको छ र यसले अगामी दिनमा शेयर बजारको बिकासमा सकारात्मक भूमिका निर्वाह गर्नेछ ।

नवराज उप्रेती, सेयर लगानीकर्ता
पूँजीगत लाभकरलाई ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिनु स्वागतयोग्य छ । पूँजीबजारका लागि स्वागतयोग्य बजेट छ ।

सुशीला थपलिया
समग्रमा राम्रो छ बजेट । लगानीकर्ताका माग प्राय सम्बोधन भएका छन् । अब बजार प्राकृतिक रुपमै बढ्छ भन्ने आशा जागेको छ । 

दीपेन्द्र अग्रवाल
गज्जब बजेट आयो । बजारका लागि यो निकै राम्रो र संवेदनशील बजेट पनि हो । दोश्रो बजारमा नयाँ युगको सुरुवातका लागि र बुल रनका लागि यो बजेट निकै राम्रो आधार बन्न सक्छ ।

जीके रोशन थापा
एकदम राम्रो छ । दवाब समूहले उठाएका मागहरु सम्बोधन भएका छन् । खुशी छौ हामी लगानीकर्ता । 

पूजा सापकोटा भट्टराई 
बजारका लागि धेरै सकारात्मक कुरा बजेटमा छ । तर पूँजीगत लाभकर नै अन्तिम कर हो सेयर बजारमा भनेर नआएकोले सशंकित छु । समग्रमा बजेट भाषणले बजारमा राम्रो प्रभाव पार्नेछ ।

हरि ढकाल(अध्यक्ष)-दबाब समूह 
बजेट पूँजीबजारका लागि स्वागतयोग्य छ । भोलिदेखि बजारमा लगानीकर्ताहरुले उत्साही हुँदै लगानी गर्नेछन् ।

ऋषिराम गौतम 
यसपालिको बजेट समग्रमा सेयरबजारको लागि गत बर्सको भन्दा एकदम सुखद पाएँ । ब्यक्तिगत लगानीकर्ताका लागि लाभ कर घट्नु, गैरआवासीय नेपालीलाइ सेयर बजारमा लगानी गर्ने कुरा बजेटमा समावेश हुनु, भारित औसतकौ आधारमा हकप्रद तथा बोनस सेयरमा कर गणना गर्ने कुरा धेरै राम्रो कुरा हुन् । नेप्से र सिडिएसको सिस्टम अत्याधुनिक गर्ने कुरा बजेटमै समाबेश हुनुले सरकार सेयर बजारको बिकासमा गम्भीर भएर लाग्ने संकेत गर्छ ।